नेप्से परिसूचक २५.५५ अंकले बढेर दुई हजार ५८५.०४ विन्दुमा पुग्दा कारोबार कति भयो ?

सोमबार, भदौ २९, २०८३

सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर दुई हजार ५८५.०४ विन्दुमा पुगेको छ। 

नेप्से ०.९९ प्रतिशतले वृद्धि हुँदा ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९५ प्रतिशतले बढेको छ।

आज कारोबार रकममा समेत सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिन चार अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएकोमा आज बढेर चार अर्ब ६८ करोडमा पुगेको हो। ३३६ कम्पनीको एक करोड १५ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री भए।

नेप्सेका १३ समूहमध्ये म्युचल फन्ड ०.३१ प्रतिशतले गिरावट हुँदा बाँकी समूह उकालो लागेका छन्। वित्त, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, व्यापार र अन्य समूह एक प्रतिशतभन्दा धेरैले बढोत्तरी हुँदा बाँकी सबै समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ।

सोमबार बजारसँगै सर्वाधिक वृद्धि भएका इन्फिनिटी लघुवित्त र त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढी आर्जन गरे। यसैगरी, सिर्जनशील लघुवित्त, सर्वोत्तम पेन्ट्स र मल्टिपर्पोज फाइनान्स पाँच प्रतिशतभन्दा धेरैले बढेका छन्।

तर, उपकार लघुवित्त, अभियान लघुवित्त र सनराइज फोकस्ड इक्विटीको मूल्यमा ८.२३ प्रतिशतदेखि ५.११ प्रतिशतसम्मको गिरावट आएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:२३
प्रतिक्रिया दिनुहोस्