सोसल मिडिया
युनिकोड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। नेप्से २१.१५ अंकले घटेर २,६६३.१८ विन्दुमा बन्द भएको हो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चार दिनदेखिको गिरावट तोड्दै बजारमा सुधारको संकेत देखिएको थियो। तर त्यो उत्साह लामो समय टिक्न सकेन। सोमबार पुनः घटेको बजारले मंगलबार पनि निरन्तर ओरालो यात्रा कायम राख्यो।
मंगलबार कारोबार सुरु भएलगत्तै नेप्से नकारात्मक क्षेत्रमा प्रवेश गरेको थियो। कारोबार अवधिभर सूचकले केही पटक सुधारको प्रयास गरे पनि अन्ततः ०.७८ प्रतिशतले घटेर बन्द भयो।
कारोबार अवधिमा बजारको समग्र अवस्था पनि नकारात्मक रह्यो। २१३ कम्पनीको सेयर मूल्य घट्दा ५८ कम्पनीको मूल्य बढ्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो। कुल १० लाख ७६ हजार कित्ता सेयर ५२ हजार २७२ पटक किनबेच हुँदा ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर्स लिमिटेडले लगातार दोस्रो दिन १५ प्रतिशतको सकारात्मक सर्किट लगाउँदै सबैभन्दा बढी वृद्धि हासिल गर्यो। खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य १०.०७५ प्रतिशत र जोशी हाइड्रोपावरको ५.२६ प्रतिशतले बढ्यो।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.४३ प्रतिशतले घट्दै सबैभन्दा बढी गुमाउने कम्पनी बन्यो। १०.२५ प्रतिशत केबीएल डिबेन्चर २०८६ को मूल्य ६.८३ प्रतिशत तथा १२ प्रतिशत गुडविल फाइनान्स डिबेन्चर २०८३ को मूल्य ५.४६ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ४० करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि सिद्धार्थ बैंक लिमिटेडको १६ करोड ७७ लाख ७० हजार रुपैयाँ र नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १६ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार सबै उपसमूह परिसूचक घटेका छन्। सबैभन्दा बढी १.३१ प्रतिशतले उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ) उपसमूह घट्यो। त्यसपछि व्यापार (ट्रेडिङ) उपसमूह १.१९ प्रतिशत र अन्य (अदर्स) उपसमूह १.०४ प्रतिशतले ओरालो लागेका छन्।