सोसल मिडिया
युनिकोड
जिल्लाबासी गृहमन्त्रीले क्रेनले तानेरै भएपनि मलाई मुख्यसचिव बनाउने पक्का भयो नि भन्दै ढोल बजाएर अन्तिममा थन्किएका गृहसचिव राजकुमार श्रेष्ठको घरमै थन्किने दिन नजिकिएको छ। श्रेष्ठ ५ वर्षे सचिवका कार्यकाल पूरा गरेर भदौ १५ गते राति १२ बजेदेखि अवकाशमा जाँदैछन्। गृहमन्त्री सुधन गुरुङ र सचिव श्रेष्ठ एकै जिल्ला गोरखाका हुन्।
एक महिनाभित्रै गृहसचिव श्रेष्ठसहित ४ सचिव अनिवार्य अवकाशमा जाँदैछन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली र बाबुराम अधिकारी घर जान लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव मैनाली साउन १८ गतेबाटै अनिवार्य अवकाशमा जाँदैछन्। उनी सचिवको ५ वर्षे कार्य अवधि पूरा गरेर घर जान लागेका हुन्। सचिव मैनालीले अब ३ दिन मात्र जगेडामा हाजिर गर्न पाउनेछन्।
भदौं लाग्नसाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डिल्लीराम शर्मा अनिवार्य अवकाशमा जानेछन्। उनी भदौ १ गतेबाटै घर जानेछन्। ५ वर्ष पूरा सचिव भएर उनी घर जान लागेका हुन्।
बागमती प्रदेशबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरूवा भएका सचिव बाबुराम अधिकारी पनि भदौं १ गतेबाटै घर जानेछन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
भदौं २ र ३ गते बिदा भएकाले १ गते नै सचिव अधिकारीको हाजिर गर्ने अन्तिम दिन हुनेछ। दुई दिन बिदा भएकाले अख्तियारका सचिव शर्मा र जगेडाका सचिव अधिकारी एकैदिन घर जाने भएका हुन्।
गृहसचिव श्रेष्ठ घर जाने भएपछी गृह सचिव ताक्ने सचिवको संख्या बढ्दो छ। मुख्यसचिव हुने लाईनमा देखिएका तर हुन नसकेका सचिव गृह सचिव खान धूप हालेर बसेका छन्। हालका अर्थसचिवले गृहमन्त्री सुधन गुरुङलाई दुई पटक भेटिसकेका छन्। त्यस्तै पर्यटन सचिव मुकुन्द निरौलाले पनि रहर गरेका छन्। उता, मदन भुजेल पनि गृहसचिव बन्ने चाँजोपाँजोमा नपत्याउदो गरि लागिरहेकै छन्।