राष्ट्र बैंकले ४५ अर्ब रूपैयाँ निक्षेप संकलनको लागि निकाल्यो बोलकबोलको सूचना

बुधबार, असार ३, २०८३

नेपाल राष्ट्र बैंकले ४५ अर्ब रूपैयाँ निक्षेप संकलनको लागि बोलकबोलको सूचना प्रकाशन गरेको छ। केन्द्रीय बैंकले २८ दिनको लागि वाणिज्य बैंकहरु, विकास बैंक र वित्तीय संस्थाहरुबाट निक्षेप संकलन उपकरणमार्फत निक्षेप संकलन गर्न लागेको हो। 

राष्ट्र बैंकले बुधबार दिउँसो अनलाइन विडिङ सफ्टवेयरमार्फत मात्रै बोलकबोल हुने बताएको छ। निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र त्यसरी राष्ट्र बैकमा रहेको निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले बताएको छ। 

बैंक वित्तीय संस्थालहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकम निक्षेपका लागि बोलकबोल गर्न पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा पनि बहुबोलकबोल हुने राष्ट्र बैंकले प्रकाशन गरेको सूचनामा उल्लेख छ। 

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु भनिएको छ।  निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने सूचनामा उल्लेख छ। 

यदि समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो–राटा–बेसिसमा बाँडफाँट गरिने राष्ट्र बैंकले बताएको छ।
 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १३:१०
प्रतिक्रिया दिनुहोस्