सोसल मिडिया
युनिकोड
झण्डै तीनमहिना अघि देखि कोमामा पुगेको सचिव बैठक बल्ल बहुरिएको छ।वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि रोकिएको सचिव बैठक आज बस्दै छ ।
मुख्य सचिवको अध्यक्षतामा हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने प्रचलन थियो ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा मुख्यतः चारवटा विषयहरू एजेन्डाका रूपमा रहेका छन । जेन–जी आन्दोलनमा जलेर कवाड भएका सवारीसाधनहरूको लिलामी, मन्त्रालय र निकायहरूको ओ एन्ड एम को प्रगति, तत्कालै गर्ने कार्ययोजना र विधि गरी चार एजेण्डाहरू राखिएको एक सचिवले जानकारी दिए । ‘मुख्यतः चारवटा एजेन्डामा आज सचिव बैठक बस्दै छ,’ एक सचिवले भने, ‘छलफलको क्रममा अरु एजेन्डाहरू पनि आउँछन् ।’
निजामती सेवा विधेयकका विषयमा मुख्य सचिवले विषयवस्तु राख्न सक्ने उनले बताए । उनका अनुसार सचिवहरूले निजामती सेवा विधेयकका विषयमा मुख्यसचिव सुमनराज अर्यालसँग चासो र असन्तुष्टि राखिरहेका छन् । ‘सचिवहरूको चासोका विषयमा मुख्यसचिवले बैठकमा केही भन्नुहोला’, अर्का सचिवले भने, ‘निजामती प्रशासनमा ल्याउन लागिएको विकृतिका विषयमा मुख्यसचिव पक्कै बोल्नुहुन्छ ।’
नेपाल सरकारका सचिवहरू बैठक बसेर सरकारको प्राथमिकता निर्धारण गर्ने काम गर्ने गरेको उनले बताए । उनका अनुसार गत महिना कार्यसम्पादन गरेका विषय र आगामी योजनाका विषयमा सचिव बैठकमा सामान्यता छलफल हुने गरेको थियो । सचिव बैठकबाट पास भएका विषयहरूलाई सम्बन्धित मन्त्रालयले मन्त्रिपरिषद्मा ल्याएर समेत निर्णय गर्ने गरिएको थियो ।
‘सरकार गठन भएपछि एकपटक सचिव बैठकको सूचना आएको पनि थियो तर पछि सो बैठक रोकिएको खबर आयो’, एक सचिवले भने, ‘नयाँ सरकार गठन भएपछि पहिलोपटक सचिव बैठक हुन लागेको छ, हेरौँ कसरी अगाडि बढ्छ ।’