सोसल मिडिया
युनिकोड
मिलाएर जागिर खान सिपालु कर्मचारी मध्येका एक सहसचिव मदन दाहाललाई भ्रामरी दशाले चार घेरा हालेर लडाएको छ। प्रदेश नगएरै संघ सरकारकै मालदार अड्डाको मूली भएर कामकाज गर्ने क्रममा गरेको कामले उनलाई हत्कडी लगाउने ठाउँमा पुर्याएको हो।
सत्ताको चाबी बोकेकालाई चलाउने हैसियत राख्ने बिचौलिया दीपक भट्टको भित्रिया भएकै कारण दाहाललाई राहु र केतुको उल्टो दशाले सप्को मारेको हो। भट्टको दौराको फेर समातेर जागिर सहित अन्य जिनिस सेवन गर्नाले ५५ वर्षे दाहाललाई गलाएको छ।
बीमासम्बन्धी कसुरमा आफ्ना कर्मतादा भट्टसहित प्रदेश सचिव दाहालविरुद्ध बिहिबार मुद्दा दायर भएको हो। मुद्दा दायर भएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव दाहाललाई काँजो लागेको हो।
सरकार नै हल्लाउने बिचौलिया भट्ट र शंकर ग्रुप निकट मानिने दाहाललाई तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए। दिपक भट्ट र शंकर ग्रुपसँग साँठगाँठ र ‘भित्री कारोबार’ देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले महानिर्देशक दाहालसँग बयान समेत लिइसकेको छ। दाहालले यो बाहेक अन्य थप तीन कसुर गरेको श्रोतको भनाई छ।
पक्राउ पूर्जी जारी भईसकेका दाहाललाई विगतका अवसरको भल छोपाईले निम्त्याएको भाउँतोले हिरासतमा पुर्याउने पक्का भएको छ। आन्तरिक राजस्व विभागको महानिर्देशक सहित वैदेशिक रोजगार विभागको पनि दाहाल डिजी बनेका थिए। त्यस्तै एमाले सत्तासंग कुम जोडेर महत्वपूर्ण अड्डाको मूली बन्नाले दाहालको जागिरे जीवनको आखिरी समय पीडादायी बन्ने निश्चित भएको छ।