सोसल मिडिया
युनिकोड
बिचौलिया साम्राज्यका महारथी दीपक भट्टसँग अर्थ सचिव डा. घनश्याम उपाध्याय रेग्मी पनि जोडिएका छन्। सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत अनुसन्धानका लागि प्रहरी हिरासतमा सुस्ताईरहेका भट्टसँग घनश्यामको हिमचिम भएको तथ्य फेला परेको छ। आजै मात्र भट्ट र सुलभ अग्रवाललाई थप सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर संरचनामा अर्थसचिव उपाध्यायकी श्रीमती भगवती उपाध्यायको नाम सामेल भए संगै उपाध्याय र भट्टको कनेक्सन खोज्न थालिएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता अभिलेखअनुसार भगवती उपाध्यायको नाममा १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको तथ्य सार्वजनिक भएको छ । दैलेखका छाबिराम शर्मा रिजालकी छोरी भगवती घनश्यामकी पत्नी भएको पुष्टी भएको छ। दर्ता नं. ३०४३२०-७९/८० को सेयरवाला दर्ता किताब अनुसार उनी सातौँ नम्बरमा संस्थापक सेयर धनीका रूपमा उल्लेख छन्। यस अघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरकी श्रीमतीको नाममा समेत सेयर रहेको विषय सार्वजनिक भइसकेको छ।
उपाध्यायले उक्त सेयर खरिद २०७९ माघ १९ गते एभरेष्ट बैंकको चेकमार्फत भुक्तानी गरिएको बताएका छन्। जतिबेला उनी सहसचिव थिए। काठमान्डूको सिडिओ भएकै बेला २०८० असार १९ गते उनी सचिवमा बढुवा भएका थिए। अख्तियारको सचिव समेत भईसकेका उपाध्याय २०८१ माघ २८ देखि अर्थसचिव छन्। उनले काठमाडौँको सिडिओ भएकै बेला श्रीमतीका नाममा संस्थापक सेयर लिएका हुन्। ललितपुरको सिडिओबाट २०७९ भदौ २२ गते उनको सिधै काठमाडौँको सिडिओमा सरुवा भएको थियो।