सिंहदरबारमा बरालिने र गफ जोत्ने कर्मचारी यसरी पर्दैछन् प्रधानमन्त्री वालेनको ‘फेला’

मंगलबार, वैशाख ८, २०८३

अघिल्लो सालको चैत १३ गते प्रधानमन्त्री पदको सपथ खाएका वालेन्द्र साहले सत्ताको बागडोर सम्हालेपछि सबैभन्दा चर्को प्रभाव र असर कर्मचारीमा पर्न थालेको छ। 

प्रधानमन्त्रीले सिंहदरबारभित्रका कुनै पनि सूचना सार्वजनिक गर्नुअघि अनिवार्य रुपमा स्वीकृत गराउन मातहतका निकायलाई निर्देशन जारी गरेका छन्।

त्यस्तै सरकारी सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयले कर्मचारीको आवागमन समयलाई पनि अनुगमन गरिरहेको छ। राष्ट्रिय सतर्कता केन्द्रमार्फत् कर्मचारी प्रवेश गरेको र निस्केको समयको निगरानी राख्न थालिएको हो। 

सरकारले चैत २३ गतेबाट ९ बजेदेखि ५ बजेसम्म सरकारी कामकाजको समय निर्धारण गरेको छ भने शनिबार र आइतबार दुई दिन साप्ताहिक बिदा दिएको छ। 

समयमै कार्यालय नपुग्ने र छिट्टै निस्कने कर्मचारीलाई कडाइ गरिएको छ। ‘बिहान ९ बजेभित्र मन्त्रालय पुगिसक्नुपर्छ,’ श्रम मन्त्रालयका एक उपसचिवले भने, ‘साँझ ५ बजेर ५ मिनेट नगई हाजिर लिँदै लिँदैन।’

कर्मचारीले अहिले चुपचाप काम गरिहेको उनी बताउँछन्।

‘सतर्कता केन्द्र दैनिक आउँछ, नौ बजेर पाँच मिनेट नाघ्यो भने पनि निहुँ खोजेर हाजिरी बोकेर हिँड्छ,’ कृषि, पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालयका एक शाखा अधिकृतले भने, ‘पहिला एघार बजे पनि कार्यालय नआइपुग्ने, के–के भयो भनेर बहाना गर्ने कर्मचारीको अहिले त कोही बिरामी पनि हुँदा रहेनछन्, जाम पनि हुँदो रहेनछ। नौ नबज्दै अफिस आइपुग्दा रहेछन् त।’

सबै कर्मचारी अनिवार्य कार्यालय पोसाकमै आउने गरेको उनको भनाइ छ। यसअघि मनलाग्दी पोसाक लगाएर सिंहदरबार आउने गरेको उनले बताए। 

‘प्रधानमन्त्री कार्यालयले सूक्ष्म ढंगले कर्मचारीको निगरानी गरिरहेको छ,’ उनले थपे, ‘लामो समयदेखि बानी बिग्रिसकेको छ, गर्नुपर्‍यो नि। एउटा न एउटा बहाना त गरिहाल्छन्। यो ट्रयाकमा ल्याउनलाई पनि यो पनि आवश्यक छ।’

यो एक वर्ष सुशासनको क्षेत्रमा कायापलट गर्नेगरी प्रधानमन्त्री बालेन्द्रले काम गर्ने बताएका छन्। त्यही भएर उनले चुस्त र दुरुस्त सेवा प्रवाहलाई मुख्य जोड दिएका छन्। सिंहदरबारदेखि सार्वजनिक निकायमा ढिलासुस्ती र अनियमितता रोक्न उनले डिजिटल सेवालाई पनि सँगसँगै अगाडि बढाइरहेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्