बालेन प्रधानमन्त्री भएदेखि थला परेको सेयर बजार उठ्न सकेन, आज झन् सोत्तर

आइतबार, चैत २२, २०८२

नयाँ सरकार आएयता सेयरबजारमा निरन्तर गिरावट आएको छ। चैत १३ मा बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेसँगै सेयर लगानीकर्ता उत्साही हुन नसक्दा बजार निरन्तर घटिरहेको छ।

सरकार बनेयता १५ गते पहिलो कारोबार नै घटेको थियो। यो बीचमा बजार २ पटक मात्र बढेको छ। १७ गते र १९ गते बढे पनि बजारले बलियो वृद्धिको संकेत दिन नसकेको हो। 

आइतबार (२२ गते) त बजारमा १०५.५० अंकले घट्न पुगेको छ। यो सरकार बनेयताकै उच्च गिरावट हो। ३.७९ प्रतिशतले घटेको बजार अहिले २६७६.६८ विन्दुमा झरिसकेको छ। आइतबार कुल १२ अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ३ करोड १२ लाख कित्ता किनबेचपछि बजारमा उक्त परिमाणको कारोबार भएको हो। 

यस दिन ७ वटा सेयर बढे पनि २६१ वटा घटेका छन्। बढेकामध्ये चारवटामा सकारात्मक सर्किट ब्रेक लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिजलाइन इनर्जी, होटल फरेस्ट इनाको सेयर १० प्रतिशतले बढेको छ। त्यस्तै सुपर खुदी हाइड्रो पनि ९.९९ प्रतिशतले उकालो लागेको छ। तर नारायणी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्टको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर पनि ९.९९ प्रतिशतले घटेको नेप्सेले जनाएको छ। 

यस दिन हिमालयन रिइन्स्योरेन्सको ५८ करोडको कारोबार भएको छ भने शिवम् सिमेन्टको ४५ करोडको किनबेच भएको छ। लगानीकर्ताहरुले ङादी ग्रुप पावरको ४२ करोड, नेशनल हाइड्रोको ३६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३४ करोडको सेयर कारोबार गरेका छन्। 

आइतबार अन्य समूह ६ प्रतिशतले घट्दा विकास बैंक र जलविद्युत् ४ प्रतिशत, वाणिज्य बैंक, फाइनान्स, होटल, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार ३ प्रतिशत बढीले घटेका छन्। 
 

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्