कांग्रेस सभापतिबाट राजीनामा दिएको खोस्टो विश्वलाई बुझाएर गगनले के-के भने ?

बिहीबार, चैत ५, २०८२

नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशन सम्पन्न नभइ निर्वाचनको सामना गर्नुपरेको भए कांग्रेसका लागि झनै प्रतिकूल परिणाम प्राप्त हुने जिकिर गरेका छन्। 

उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार बुझाएको राजीनामा पत्रमा थापाले पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय प्राप्त हुन नसक्दा प्रतिकूल परिणाम आएको उल्लेख गरेका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनको परिणामका प्रमुख कारणहरूमध्ये समयको सीमितता मुख्य कारण रहेको उनको बुझाइ छ।

‘विशेष महाधिवेशन सम्पन्न नभइ निर्वाचनको सामना गर्नुपरेको भए परिस्थिति कांग्रेसका लागि झनै प्रतिकूल परिणाम प्राप्त हुने थिएन,’ राजीनामापत्र लेखिएको छ, ‘तथापी यस निर्वाचनमा पार्टी मेरो नेतृत्वमा सहभागी भएको थियो, त्यसैले मैले कति समय जिम्मेवारी सम्हालेँ वा कुन अवस्थामा सम्हालेँ वा नसम्हालेको भए के हुन्थ्यो भन्ने विषय गौण हो। वर्तमान परिणामप्रतिको जवाफदेहिता मेरो हो भन्नेमा म पूर्णतः स्पष्ट छु।’

निर्वाचन सम्पन्न भएलगत्तै राजीनामा दिने मनस्थिति बनाए पनि निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारी सम्पन्न गरेर राजीनामा दिएको थापाको भनाइ छ। ‘निर्वाचन सम्पन्न भएलगत्तै मैले राजीनामा दिने मनस्थिति बनाएको थिएँ, तर निर्वाचनसँग सम्बन्धित आफ्नो जिम्मेवारीसँग जोडिएका अन्य आवश्यक कार्यहरू सम्पन्न गर्नुपर्ने भएकाले ती सम्पन्न गर्नासाथ मैले यो राजीनामा पेश गरेको हु,’ उनले भनेका छन्।

आगामी दिनहरूमा देशका विभिन्न भागमा पुगेर पार्टीका नेता कार्यकर्ता एवं नागरिकसँग संवाद गर्ने उनको भनाइ छ। ‘उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु। नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु। आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ थापाको राजीनामा पत्रमा भनिएको छ। 

सभापति पदबाट दिएको राजीनामा अन्त्य नभइ कांग्रेसको आत्मसमीक्षा, जवाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम भएको बताए। ‘त्यसैले मेरो यो निर्णय अन्त्य होइन, यो त नेपाली कांग्रेसको आत्मसमीक्षा, जवाफदेहिता र पुनर्जागरणतर्फको एउटा प्रारम्भिक कदम हो,’ उनी भन्छन्। 

थापाको नेतृत्वमा १६५ निर्वाचन क्षेत्रमै उम्मेदवार खडा गरेर चुनावमा होमिएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सिटमा सीमित भएको थियो।

चुनावमा आफू पनि पराजित भएपछि नैतिक जिम्मेवारी लिएर सभापति थापाले राजीनामा बुझाएका छन्। उनको राजीनामा भोलि बस्ने केन्द्रीय समिति बैठकले अस्वीकृत गर्ने नेताहरू बताउँछन्।
 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्