सोसल मिडिया
युनिकोड
चुनाव भएर नयाँ सरकार बन्ने तयारीमा रहेका बेला राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको आर्थिक अवस्था झल्काउने आर्थिक तथा वित्तीय अवस्था समेटेर प्रतिवेदन सार्वजनिक गरेको छ ।
फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाई बहुमतसहितको प्रचण्ड जित निकालेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन अब चैतको पहिलो सातामा प्रधानमन्त्री बन्ने तयारीमा छन् । नेपालको संसदीय चुनावको इतिहासमा कुनै एक पार्टीले बहुमत पाएको यो तेस्रोपटक हो भने नयाँ संविधानअनुसार भएको मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले बहुमत पाएको पनि यो पहिलोपटक हो । बहुमत पनि सामान्य होइन, रास्वपाले करिब दुईतिहाईको पाएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा उसले १८३ सिट जित्ने देखिएको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ सिट जितिसकेको छ भने समानुपातिकतर्फ ११० सिटमध्ये ५७ सिट जित्ने देखिएको छ । बालेनलाई रास्वपाले चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गरेकाले उनी प्रधानमन्त्री हुने पक्काजस्तै छ । तीन वर्ष काठमाडौं महानगर प्रमुखको अनुभव संगालेका बालेनले देशकै बागडोर सम्हाल्न लाग्दा राष्ट्र बैकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदन त्यति नकारात्मक छैन ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । यो भनेको उपभोक्ता मूल्यवृद्धि हो । हालसम्म मूल्यवृद्धि नियन्त्रित अवस्थामै रहेको छ ।
यस्तै हाल राष्ट्र बैंकको ढुकुटीमा कुल विदेशी विनिमय सञ्चिति रु.३३०२ अर्ब ६६ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । यस्तो सञ्चिति १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । वैदेशिक विनिमय सञ्चितिमा कुनै दबाब नपारी नयाँ सरकारले निर्णय गर्न सक्ने अवस्था छ । अथवा नयाँ सरकारलाई वैदेशिक विनिमयको कुनै संकट हुने छैन ।
यस्तै सरकारको चालु खाता रु.४९३ अर्ब ७८ करोड र शोधनान्तर रु.५७२ अर्ब ७३ करोड बचतमा रहेको छ । यो सूचाकांकले पनि सरकारले आर्थिक तथा वित्तीय अवस्था सुधारका लागि कुनै अप्रिय हस्तक्षेप गर्नु नपर्ने अवस्था देखाएको छ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशतले र अमेरिकी डलरमा ३३.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको विप्रेषण आप्रवाह रु.१९८ अर्ब ८ करोड रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले खाडी, युरोप, अस्ट्रेलिया तथा अमेरिकालगायत विदेशबाट पठाउने रकम नै विप्रेषण हो । विप्रेषण नै नेपालको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो ।
चालु आर्थिक वर्षको पहिलो सात महिनामा निर्यात ३२.२ प्रतिशतले र आयात १३.६ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवै बढे पनि यो विषय भने बालेन सरकारका लागि पनि टाउको दुखाइ हुनेछ । किनकि अहिले पनि नेपालको वैदेशिक व्यापार घाटा बढिरहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु.११२३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई रु.९५५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०३ अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१०३ अर्ब ९४ करोड बराबरको भएको थियो ।
नेपाल सरकारको खर्च रु.८०१ अर्ब ३७ करोड र राजस्व परिचालन रु.६६५ अर्ब २ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.० प्रतिशत रहेको छ ।