नयाँ सरकारलाई छैन वैदेशिक विनिमयको कुनै संकट, मूल्यवृद्धि नियन्त्रित अवस्थामै

बिहीबार, फागुन २८, २०८२

चुनाव भएर नयाँ सरकार बन्ने तयारीमा रहेका बेला राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको आर्थिक अवस्था झल्काउने आर्थिक तथा वित्तीय अवस्था समेटेर प्रतिवेदन सार्वजनिक गरेको छ । 

फागुन २१ गते भएको प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुईतिहाई बहुमतसहितको प्रचण्ड जित निकालेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन अब चैतको पहिलो सातामा प्रधानमन्त्री बन्ने तयारीमा छन् । नेपालको संसदीय चुनावको इतिहासमा कुनै एक पार्टीले बहुमत पाएको यो तेस्रोपटक हो भने नयाँ संविधानअनुसार भएको मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले बहुमत पाएको पनि यो पहिलोपटक हो । बहुमत पनि सामान्य होइन, रास्वपाले करिब दुईतिहाईको पाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा उसले १८३ सिट जित्ने देखिएको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये १२५ सिट जितिसकेको छ भने समानुपातिकतर्फ ११० सिटमध्ये ५७ सिट जित्ने देखिएको छ । बालेनलाई रास्वपाले चुनावअघि नै भावी प्रधानमन्त्री घोषणा गरेकाले उनी प्रधानमन्त्री हुने पक्काजस्तै छ । तीन वर्ष काठमाडौं महानगर प्रमुखको अनुभव संगालेका बालेनले देशकै बागडोर सम्हाल्न लाग्दा राष्ट्र बैकले बुधबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदन त्यति नकारात्मक छैन । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । यो भनेको उपभोक्ता मूल्यवृद्धि हो । हालसम्म मूल्यवृद्धि नियन्त्रित अवस्थामै रहेको छ । 

यस्तै हाल राष्ट्र बैंकको ढुकुटीमा कुल विदेशी विनिमय सञ्चिति रु.३३०२ अर्ब ६६ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । यस्तो सञ्चिति १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । वैदेशिक विनिमय सञ्चितिमा कुनै दबाब नपारी नयाँ सरकारले निर्णय गर्न सक्ने अवस्था छ । अथवा नयाँ सरकारलाई वैदेशिक विनिमयको कुनै संकट हुने छैन । 

यस्तै सरकारको चालु खाता रु.४९३ अर्ब ७८ करोड र शोधनान्तर रु.५७२ अर्ब ७३ करोड बचतमा रहेको छ । यो सूचाकांकले पनि सरकारले आर्थिक तथा वित्तीय अवस्था सुधारका लागि कुनै अप्रिय हस्तक्षेप गर्नु नपर्ने अवस्था देखाएको छ । 

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशतले र अमेरिकी डलरमा ३३.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको विप्रेषण आप्रवाह रु.१९८ अर्ब ८ करोड रहेको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले खाडी, युरोप, अस्ट्रेलिया तथा अमेरिकालगायत विदेशबाट पठाउने रकम नै विप्रेषण हो । विप्रेषण नै नेपालको वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो । 

चालु आर्थिक वर्षको पहिलो सात महिनामा निर्यात ३२.२ प्रतिशतले र आयात १३.६ प्रतिशतले बढेको छ । आयात र निर्यात दुवै बढे पनि यो विषय भने बालेन सरकारका लागि पनि टाउको दुखाइ हुनेछ । किनकि अहिले पनि नेपालको वैदेशिक व्यापार घाटा बढिरहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु.११२३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ । 

आर्थिक वर्ष २०८२÷८३ को सात महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई रु.९५५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०३ अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१०३ अर्ब ९४ करोड बराबरको भएको थियो ।

नेपाल सरकारको खर्च रु.८०१ अर्ब ३७ करोड र राजस्व परिचालन रु.६६५ अर्ब २ करोड रहेको छ ।  विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ । 

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१– दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.० प्रतिशत रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्