सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र साहलाई म्यासेज पठाएपछि केरकारमा पर्दै एकाएक भाईरल बनेका उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा सरूवा गरिएका सचिव कृष्णहरि पुष्कर कर्णले प्रधानमन्त्री कार्यालयमा हाजिर गर्न थालेका छन्। अब उनको जागिरे अवधि एक महिना पनि छैन। सचिवको पाँच वर्षे कार्यकाल असार २४ सकिएपछि विक्रम सम्बत् २०३१ मा जन्मिएका उनी घर फर्किन्छन्।
मुख्यसचिव वा राजदूत बार्गेनिङ गरेर अनुचित ‘म्यासेज’ पठाएपछि सचिव कर्ण प्रहरी केरकारमा परेका थिए। त्यसपछि उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा उनको सरूवा गरिएको थियो।
पुस्कर जस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरूवा भएका सचिव डिल्लीराम शर्मा पनि अतिरिक्तमा हाजिर भइसकेका छन्। खारेज भएको युवा तथा खेलकुद मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा सरुवा भएका लोकनाथ पौड्याल समेत हाजिर भइसकेका छन्। उनीहरूलाई एउटै कोठामा बस्ने व्यवस्था मिलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले बतायो। पौडेलको पनि घर जाने दिन धेरै टाढा छैन। साउनमा ५८ वर्ष लागेपछि उनी पनि घरै जाने हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली पनि प्रधानमन्त्री कार्यालयकै जगेडामा छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा सरुवा भएका गोविन्दप्रसाद शर्माले चाँही हाजिर नगरेको पाईएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा तानिएका निलम्बित सचिव डण्डुराज घिमिरे भने हाजिर हुन पाउने छैनन्।