सोसल मिडिया
युनिकोड
घुस रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको हो।
अनुसन्धानका क्रममा प्रतिवादीहरू तेजबहादुर र सानुकान्छासहित भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउतको मिलेमतो र योजनामा २४ लाख ५० हजार रुपैयाँ घुस रकम आदान–प्रदान भएको तथ्य पुष्टि भएको आयोगको दावी छ।
प्रतिवादीहरूले साविक चाँगुनारायण गाउँ विकास समिति वडा नं.५ ख अन्तर्गत कित्ता नं. २८६ र २८९ को जग्गा मोही बाँडफाँड र नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाइदिने बहानामा घुस लिएको दावी आयोगको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) बमोजिम २४ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) अनुसार कैद र जरिवाना सजाय मागदाबी गरेको छ।