सोसल मिडिया
युनिकोड
सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा डा. जगदीश्वर कर्माचार्यलाई पदस्थापन गरेको छ।
प्राविधिकतर्फका वरिष्ठ सहसचिव कर्माचार्यलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै रिक्त ऊर्जा मन्त्रालयको सचिव बनाएको हो।
नेपाल इन्जिनियरिङ सेवातर्फका राजपत्रांकित विशिष्ठ श्रेणी पदमा कर्माचार्यलाई बढुवा गर्ने निर्णय भएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। सचिवमा बढुवा भएसँगै उनलाई ऊर्जा मन्त्रालयको सचिव पदमा पदस्थापन गरिएको पोखरेलले बताए।
सचिव बढुवा सिफारिस समितिले प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको थियो।
सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सिफारिस गरेको थियो। सरकारले सिफारिस भएकामध्ये वरिष्ठ सहसचिव कर्माचार्यलाई नै सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सचिव बढुवा भएका कर्माचार्य ऊर्जा मन्त्रालयमै कार्यरत थिए।
ऊर्जा मन्त्रालयकी तत्कालीन सचिव सरिता दवाडीलाई कार्यशैली सुधार्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको आरोप लगाउँदै सरकारले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो।