सोसल मिडिया
युनिकोड
परराष्ट्र मन्त्रालयले ६७ नयाँ अधिकृतलाई स्वागत गरेको छ। मंसीर २३ गते मंगलबार परराष्ट्रसचिव अमृतबहादुर राईले उनीहरूलाई एक कार्यक्रमबीच मन्त्रालयमा स्वागत गरेका हुन् ।
“लोकसेवा परीक्षा पास गरी ६७ जना नयाँ अधिकृत सोमबारबाट परराष्ट्र सेवामा औपचारिक रूपमा प्रवेश गर्नुभएको छ,” परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
ओएन्डएममार्फत परराष्ट्रमा १०० भन्दा बढी दरबन्दी थप गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट गरिएपछि लोकसेवा आयोगले विज्ञापन निकालेको थियो । त्यसपछि लोकसेवा परीक्षा उत्तीर्ण गरेर २७ महिलासहित ६७ नयाँ अधिकृत मन्त्रालयमा हाजिर भएका हुन् ।
“नयाँ अधिकृतहरूको आगमनले परराष्ट्र मन्त्रालय अझ बलियो भएको छ,” प्रवक्ता क्षेत्रीले भने ।
नयाँ अधिकृतलाई सोमबारै नियुक्तिपत्र प्रदान गरी शपथग्रहण गराइएको थियो । नयाँ अधिकृतलाई स्वागत गरेपछि परराष्ट्रसचिव राईले बधाई दिँदै ‘जनता पहिले’ भन्ने आदर्शका साथ काम गर्न निर्देशन दिएका थिए । आफ्नो कर्तव्य निर्वाह गर्दा व्यावसायिकता र इमानदारीको उच्चतम मापदण्ड कायम राख्न उनले निर्देशन दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार, परराष्ट्र सेवामा एकैदिन यति ठूलो संख्यामा अधिकृतले प्रवेश पाएको यो पहिलो घटना हो । नयाँ अधिकृतको प्रवेशसँगै परराष्ट्र (नियोग समेत)मा कुल कर्मचारीको संख्या ३७५ नाघेको छ ।
नयाँ ६७ अधिकृतमध्ये दुईजना दाजुभाइ छन् । परराष्ट्र सेवाको अधिकृत पदमा सहोदार दाजुभाइले एकैदिन प्रवेश पाएको पनि यो पहिलोपटक भएको मन्त्रालयले जनाएको छ ।
एकैदिन परराष्ट्र सेवामा प्रवेश गर्ने दाजुभाइमा विज्ञतारा आचार्य र दिव्यदीप आचार्य छन् ।