अख्तियारका प्रमुख आयुक्त प्रेम राईले देलान् त राजीनामा ?

मंगलबार, भदौ ३१, २०८२

जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा गराउने विषयमा छलफल सुरु भएको छ।

आन्दोलनकारीको मागअनुसार भ्रष्टाचार विरोधी अभियान सुरु गर्न कार्की नेतृत्वको सरकारले अख्तियार प्रमुख राईलाई राजीनमा गर्न दबाब दिने भएको हो।

जेनजी युवाहरुले सुशासन मागेको र राई आयोगले जिम्मेवारीअनुसार काम गर्न नसकेको भन्दै उनलाई हटाउने विषयमा ठोस छलफल सुरु भएको स्रोतले जानकारी दियो।

राई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार अख्तियार प्रमुखमा नियुक्त भएका थिए। अख्तियार प्रमुखलाई नै राजीनामा गराएपछि अरु राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई हटाउन सजिलो हुने आँकलन प्रधानमन्त्री कार्कीसहित उनको टिमले गरेको बताइन्छ।

उनले पदमा रहँदा पनि ओलीका चाहनाअनुसार एमालेसँग फरक राख्नेहरुलाई मात्रै निशाना बनाएको आरोप खेप्दै आएको अवस्थामा राईलाई निरन्तरता दिन नहुने पक्षमा प्रधानमन्त्री कार्की रहेको बताइन्छ।

विशेष अदालतकै फैसलाले पनि राईको कार्यशैलीमाथि प्रश्न उठाएको छ। वाइडबडी खरिदमा भएको भ्रष्टाचार सम्बन्धी छानबिनमा राईले तत्कालीन पर्यटनमन्त्रीको सचिव हुँदा गरेको गडबडीमा आफूलाई जोगाएको टिप्पणी विशेष अदालतले फैसलामा गरेको छ।

अदालतले अख्तियारको यस कार्यलाई ‘चयनमुखी अभियोजन’को संज्ञा दिएको छ।

विशेष अदालतले गत असारमा सार्वजनिक गरेको फैसलाको पूर्णपाठमा भनिएको छ, ‘एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई गर्ने जस्तो चयनमुखी दृष्टिकोण अबलम्बन गरिएको देखिन्छ। चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्त विरुद्ध हुन्छ। यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ।’

नेपाल वायुसेवा निगमको २०७३ वैशाख २ गतेको सञ्चालक समितिको बैठकले दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो। त्यतिबेला पर्यटन मन्त्रालयका सचिव रहेका प्रेमकुमार राई नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षसमेत थिए।

राई नेतृत्वको सञ्चालक समिति बैठकले निगमको आर्थिक विनियमावली २०६५ को विनियम २३६ (१) अनुसार नयाँ विमान खरिद गर्ने निर्णय गरे पनि, एक हजार घण्टासम्म उडेको विमान खरिद गर्ने भनी पुरानो विमान खरिदको प्रक्रिया अवलम्बन गरेको थियो।

विशेष अदालतले यही पहिलो निर्णयमा नै अख्तियारबाट कुनै अनुसन्धान नभएकोमा राईको कार्यमाथि प्रश्न उठाएको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्