सोसल मिडिया
युनिकोड
कर्मचारीको खटन पटन गर्ने अख्तियारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवाको मामिलामा सधै विवादमा पर्ने गरेको छ। ऐनले नचिन्ने र मनोमानी तजबिजी अधिकार प्रयोग गरेर लथालिङ्ग सरुवा गर्ने अभ्यासलाई परम्पराकै रुपमा विकास गरेको मन्त्रालय आफैं भने सरुवाको निस्कनै नसक्ने दबदबे हिलोमा जाकिएको छ।
सामान्यतया मौजुदा निजामति ऐनले दुई वर्षमा कर्मचारीको सरुवा गर्नु पर्ने भन्छ। तर दुई वर्ष होइन दुई महिनामा चारवटा अड्डा सार गरिदिने काम सामान्य मन्त्रालयले गर्ने गरेका बग्रेल्ती उदाहरण छन्। शाखा अधिकृत र नायव सुब्बाको सरुवा त बिना ढेवा हुँदै नहुने भुक्तभोगीहरुको दाबी छ।
सामान्य मन्त्रालयको सरुवाको असामान्य विधिको हजार जिब्रा भएका शेष नागले समेत वर्णन गर्न सक्दैनन्। कति खेर को कुन अड्डमा पुग्छ त्यसको कुनै टुंगो नै हुँदैन। सरुवा गर्ने पत्र लुकाउने, दरबन्दी लुकाउने र माल चप्काउने विद्यामा सामान्यका शाखा अधिकृत र सुब्बा जति सिपालु अरू कोही नभएको त्यहींका एक सहसचिवले बताए। त्यो बिषय उठाएमा ति रैथाने कर्मचारीले सहसचिवकै बाटो लगाई दिने गरेका छन्।
उपसचिव देखि सुब्बा सम्मले हल बाँधेर सिन्डिकेट चलाए पनि त्यो सिन्डिकेट तोड्ने ल्याकत कुनै मन्त्रीमा हाल सम्म देखिएको छैन। दश बर्ष सम्म सामान्यमै जागिर खाएर जरा गाड्ने कर्मचारीको सूची लम्बेतान छ। न तिनको दुई बर्षमा सरुवा हुन्छ न त कामै गर्छन। राजनीतिक दलको पुच्छर समातेर बैतरणी तर्दै आएका तरमारालाई सामान्य मन्त्रालय नै स्वर्ग छ। मन्त्रीले पनि तिनै फुर्तिफार्ती कर्मचारीको कुरा सुनेर अरू माथि डण्डा बर्साउने गरेको सनातनी परम्परा जस्तै भएको छ।
नायब सुब्बाको मौजुदा दरबन्दी ३० भए पनि तीन घटाएर अहिले २७ दरबन्दी कायम छन्। २७ सुब्बा मध्ये अधिकांश सामान्यका रैथाने छन्। सरुवाको खेलोमेलो यिनै बाट हुने गर्छ। पार्टी पिच्छेका गच्छे अनुसारका सुब्बा कार्यकर्ताले सिंगो कर्मचारीको सरुवामा सुंड पसार्ने गरेका छन्। त्यसको अनदेखा मन्त्री सचिव र सहसचिवले गर्ने गरेका छन्। उपसचिव र शाखा अधिकृत पनि तिनै रैथाने सुब्बाले लघार्ने गरेको उहिल्यैदेखि हो।
सचिवको भन्दा तगडा हुलियामा प्रकट हुने सुब्बाले सामान्य प्रशासन मात्र नभएर अन्यत्र मन्त्रालय पनि चलाउने गरेका छन्। विशेष गरि नायब सुब्बाकै दरबन्दी हुने मन्त्रालयका स्टोर किपर यिनका दुहुना गाई हुन्। खीरको जोहो गर्न स्टोर किपर सरुवामा हरियो घाँस हाल्नु यिनको सबै भन्दा ठुलो काम हो। त्यसका अतिरिक्त मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, सडक विभाग, स्वास्थ्य जस्ता अड्डामा मालसार कर्मचारी ओसारपसार गर्नु त्यस्ता कर्मचारीको परियोजना नै हो।
यो सबै धन्धा सामान्य मन्त्रालयको उच्च तहलाई थाहा नभएको होइन। थाहा पाएर जानेरै त्यो सबै कर्मको साक्षी बन्ने गरेका छन्। तर रैथाने कर्मचारीको जालो तोड्ने साहसी मन्त्री खासै देखिएका छैनन्। सुधार गर्न खोज्ने मन्त्री होस् या त सचिव नै किन नहोस्, तिनै रैथाने सुब्बा समूह मिलेर ठाउँको ठाउँ बन्ध्याकरण गर्ने तहमा पुगी हाल्छन। कति सम्म भने रैथाने कर्मचारीलाई च्याप्न कोही तम्सियो भने उसको सोझै सरुवा हुने गरेको छ।
अहिले किस्ता-किस्तामा सामान्यले तहतहका कर्मचारीको सरुवा गरिरहेको छ। उपसचिव र शाखा अधिकृतको सरुवा गरेको सामान्य अब नायब सुब्बा सरुवामा लागेको छ। अब हुने सरुवामा पनि सामान्यका अवधि पुगेर ऐजेरु पलाएका सुब्बाको सरुवा नगरे कर्मचारीको एउटा ज्याद्रो समुह घन हान्ने साईत कुरेर बसेको छ। सरुवाको मुहान सामान्यका रैथाने सुब्बा तितरबितर नभएको खण्डमा ठुलै हुल दंगा हुने संकेत छ।