सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयको कार्यविधिविपरीत गृह जिल्लाको सिडिओ बनाउन नमिल्ने कानुन भएपनि माईती जिल्ला मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसर र आफ्नो कार्यकक्षमा फोटो भिडियो खिच्न रोक लगाएर आफूलाई नमुना सिडिओको परिचय भित्र कैद गराएकी छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुर छिर्ने गेट र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही छ’ लेखिएको पम्प्लेट टाँसिएको छ । आम नागरिकदेखि पत्रकारलाई समेत अनुमतिविना फोटो भिडियो खिच्न नपाइने फरमान जारी गरेकी उनी सबैको आँखाको तारो बनेकी हुन्।
पत्रकारलाई फोटो र भिडियो खिच्न रोक लगाइएको विषयमा ध्यानाकर्षण गर्न गएको पत्रकार महासंघ मकवानपुरको टोलीलाई प्रजिअ श्रेष्ठले अनुमतिविना प्रशासनको कुनै पनि गतिविधि खिच्न रोक लगाइएको प्रस्ट पारिन् । संसद्मा त सबै भिडियो खिच्न पाइन्छ, यहाँ किन नपाइने भन्ने पत्रकारहरूको जिज्ञासामा उनले प्रशासन कार्यालय सरकारको सुरक्षा दिने अड्डा भएकाले सुरक्षा संवेदनशीलता कारण भएको बताइन् ।
‘यहाँ धेरै किसिमका मानिसहरू आउँछन्, जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै विषयको भिडियो बनाउँदा उनीहरूलाई नै अप्ठेरो हुनसक्छ । त्यसैले मैले नोटिस नै टाँसेर यो विषयमा अनुमति लिनुपर्ने भनेको छु ।’ उनले भनिन्, ‘यो कार्यालय संसद् जस्तो पनि होइन, त्यहाँ त जिम्मेवार सांसदहरू हुन्छन् । संसद्मा बोलका विषयमा कुनै अदालतमा कुरा उठाउन पाइँदैन । प्रशासन कार्यालयमा जो जस्तो पनि मानिसहरू आएर जे जस्तो पनि बोलिरहेका हुन्छन् । सबै कुरा खिचेर सार्वजनिक गर्दा भोलि बोल्नै मानिसलाई नै अप्ठेरो हुन्छ । त्यसैले भिडियो खिच्न अनुमति लिनुपर्ने बनाएको हुँ ।’
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओ चलाएर माईती जिल्ला हाँक्न पुगेकी उनी विवादित बनेकी हुन्। २०६९ असोजमा आदिवासी/जनजाति कोटाबाट महिला विकास अधिकृत बनेकी स्किम २०७७ साउन महिला कोटाबाट सीधै सहसचिव बन्न सफल भएकी हुन्। धनकुटा, लेगुवाका रामकृष्ण श्रेष्ठसँग बैबाहिक बन्धनमा बाँधिएकी स्किम माईती जिल्लाको सिडिओ बन्न सफल भएकी हुन्। गृह जिल्लाको सिडिओ बनेका लालबाबु कवारी, नवराज जैसी, रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय फिर्ता बोलाएको नजिर ताजै भए पनि स्किमको हकमा भने त्यो लागू भएको छैन।
२०८१ जेठ १३ गते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिडिओको जिम्मेवारी सम्हालेकी स्किमले ९ महिनापछि माईती जिल्लाको सिडिओ भएर जाने सौभाग्य प्राप्त गरेकी हुन्। हटिया-९ मकवानपुरमा जन्मिएकी स्किमको शासन चर्को हुँदै गएको हो। २०८१ फागुन ९ गतेको गृहमन्त्री स्तरीय निर्णय बाट उनले मकवानपुरको सिडिओ हुने मौका पाएकी थिईन।