सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ढिलोमा असार मसान्त सम्ममा मन्त्री हेरफेर गर्ने निर्णय गरेका छन्। असार १६ गते युरोपको स्पेन उड्ने ओली २१ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री ओली आए लगत्तैदेखि मन्त्री हेरफेरको विषय अगाडी बढ्ने भएको हो। ओली सरकारमा नयाँ मन्त्री समेटिने भएपछि अहिले रहेका मन्त्रीको विदेश भ्रमण ह्वातै बढेको छ।
गत सोमबार मात्र उर्जा मन्त्री दीपक खड्का चीन उडेका छन् भने भौतिक मन्त्री देबेन्द्र दाहाल टर्की उडेका छन्। त्यस्तै,अन्य केही मन्त्री पनि विदेश जान खुट्टा उचालेर बसेका छन्। असार ३ गते मात्र खेलकुद मन्त्री दुबई पुगेर फर्किएका छन्। असार पहिलो साता स्वास्थ्य मन्त्री बैंकक पुगेर फर्किएका छन्। श्रोतका अनुसार यी सबै मन्त्रीको भ्रमण मन्त्रीको हैसियतमा भएको मैझारो भ्रमण हो।
असार १५ गतेदेखि १९ गते सम्मलाई स्पेनमा हुने कार्यक्रममा जान खानेपानी मन्त्री प्रदीप यादवलाई क्याबिनेटले अनुमति दिएको छ। परराष्ट्र मन्त्री आरजु राणा पनि इटालीको रोममा असार १३ देखि २९ सम्म हुने कार्यक्रमका लागि शुक्रबार उतै उड्ने छिन्। त्यस्तै, जर्मनीको बोनमा हुने नेपाल डेमा सहभागी हुन महिला मन्त्री नवल किशोर सुडीले उडान अनुमति पाएका छन्।
उपेन्द्र यादवको नेतृत्वको जसपा नेपाल बाट विभाजित भएर बनेको जसपाका दुई भाई मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न सो पार्टीका अध्यक्ष अशोक राईले ओलीलाई तारन्तार दबाब दिईरहेका छन्। सो पार्टीका खानेपानी मन्त्री प्रदीप यादवलाई फिर्ता गरेर बीरेन्द्र महतो मन्त्री बन्ने श्रोतको भनाई छ। महिला मन्त्री सुडीलाई बिदा गरेर रन्जु ठाकुर मन्त्री खान खुट्टा उचालेर बसेकी छिन्। ठाकुर संविधानसभाको दोश्रो कालखण्डमा संसदको,महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समिति सभापति भईसकेकी अनुभवी नेत्री हुन्। पूर्व एमाले ठाकुर ओली सरकारमा मन्त्री बन्ने पक्का छ।
त्यस्तै कांग्रेसले केही मन्त्री राखेर बाँकी सबै फेर्ने भएको छ। प्रधानमन्त्री ओलीले पनि एमालेका मन्त्रीको सेट नै फेर्ने बुझिएको छ। अहिले एमालेले चलाएको अर्थमन्त्रालय कांग्रेसले लिने र कांग्रेसको गृहमन्त्रालय एमालेले लिने ओली र देउवाबीच सहमति भएको छ। ओली स्वयम् कांग्रेसबाट गगन थापालाई अर्थमन्त्री चाहन्छन भने देउवाले ज्ञानेन्द्र बहादुर कार्कीलाई वचन दिएको श्रोतको दाबी छ।