‘बाँकटे’ सचिवमाथि प्रधानमन्त्री कार्यालयको तरबार, सुईरो घुमाएपछि संकट 

सोमबार, जेठ २६, २०८२

दरबन्दी भन्दा बढी कर्मचारी पठाउने र बरण्डामा बराल्लिएका कर्मचारीलाई खटनपटन नगराएका गृहसचिव गोकर्णमणी दुवाडी प्रधानमन्त्री केपी ओलीको आँखाको तारो बन्ने भएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएर कैफियत गरेको आरोपमा दुवाडीलाई सात  दिने म्याद दिएर स्पष्टीकरण सोधिएको छ। उनको गृहमन्त्रालय बसाई अब १५ दिन मात्र हुने पक्कापक्की जस्तै छ। गर्नु पर्ने काम नगरेर नगर्नु पर्ने काम गर्न मात्र तम्सिएका दुवाडी विवादित सचिव बनेर अन्तै थान्को लाग्ने श्रोतको भनाई छ। 

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई दरबन्दी बढी कर्मचारी खटाउनको कारण सोधेर विवरण मागेका छन्। भुमि मन्त्रालयको सचिव बाट अप्रत्याशित ढंगले गृहमा बाँकटे हानेका दुवाडीको सोही गतिमा ओरालो यात्रा हुने प्रधानमन्त्री कार्यालय श्रोतको भनाई छ।

भ्रष्टाचारमा डामिएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालका प्यारा दुवाडी अहिलेका मुख्यसचिव एकनारायण अर्यालको आँखाको तारो बनिसकेका छन्। मुलुक बाहिर रहेका बेला दुवाडीलाई प्रष्टीकरण सोधिएको हो। उनी अहिले जेनेभामा छन्।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १३:००
प्रतिक्रिया दिनुहोस्