दुई सचिव घर गएपछि सचिव हुन को-को भए तयार ? आधा दर्जन सचिव हेरफेर हुँदै

मंगलबार, वैशाख ३०, २०८२

नेपाल सरकारका दुई भाई सचिव ५८ वर्षे उमेर हदका कारण घर गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह ५८ ले छोएपछि वैशाख २४ गते र महालेखा नियन्त्रक (सचिव) गणेशप्रसाद पाण्डे बैशाख २९ गते घर गएका हुन्।

२०७८ साल असार २० गते सचिवमा बढुवा भएका पाण्डेले पुगनपुग ४ वर्ष सचिवका रूपमा कामकाज गरे। २०२४ साल बैशाख ३० गते बाग्लुङमा जन्मिएका पाण्डे २०५१ साल चैतमा सरकारी सेवामा प्रवेश गरेका थिए। सिंह र पाण्डेले अवकाश पाएपछि दुई वरिष्ठ सहसचिवले सचिव हुने अवसर पाउनेछन्। शोभाकान्त पौडेल र भूपाल बराल अब सचिव हुने पर्खाईमा छन्। अब बस्ने क्याबिनेटले दुई सहसचिवलाई सचिवमा बढुवा गर्नेछ। 

त्यस्तै अब बस्ने क्याबिनेटले कम्तिमा आधा दर्जन सचिवको सरुवा गर्दैछ। रिक्त रहेको पर्यटन सचिवमा आँखा लगाउने सचिवको संख्या पाँच पुगेको छ। उपराष्ट्रपति कार्यालयका सचिव लोकनाथ पौडेल, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मा र रक्षा सचिव रामेश्वर दंगाल पर्यटन जान जोडबल गरिरहेका छन्। 

महालेखा नियन्त्रकमा भने बागमती प्रदेशका सचिव डा. महादेव पन्थले लाइन मिलाईरहेका छन्। उता, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी वाणिज्य सचिव भएर आउने चर्चा छ। वाणिज्य सचिव गोविन्द कार्कीलाई पर्यटन मन्त्रालयमा सार्न एउटा टोली सक्रिय छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्