सोसल मिडिया
युनिकोड
दुनियाँले चिन्ने र असल भएको उपमा दिएर कोही नथाक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको उपद्रो दिनानु दिन बाहिरिन थालेको छ। आफू आफै शेर भएर अरूलाई अलिकति पनि गन्तिमन्ति नगर्ने बालेन आफै भने ओरालो यात्रामा छन्। हुने भन्दा नहुने काम गर्न ज्यादा जोशिएपछि उनी माथि प्रश्न उठ्न थालेको हो।
मेयर बालेन्द्र साहको निर्देशनमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रदीप परियारले साह सचिवालयका दुई सदस्य र एक अनधिकृत व्यक्तिलाई फ्रान्स पठाउन कानुनविपरीत निर्णय गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आधा दर्जनभन्दा बढीसँग सोधपुछ जारी राखेको छ ।
अख्तियारले प्रमुख प्रशासकीय अधिकृत परियार, मेयरका सल्लाहकार कुमार व्यञ्जनकार र सुनील लम्सालसँग सोधपुछ गरेको छ । उच्चस्रोतका अनुसार सो प्रकरणमा अनधिकृत व्यक्ति प्रवीण श्रेष्ठको नाममा पत्र तयार गर्ने कर्मचारीको पनि खोजी भइरहेको छ । स्रोत भन्छ– ‘विदेशबाट फ्रान्स भ्रमणमा पुगेका व्यक्ति कसरी मेयर साबसँगै कार्यक्रममा सहभागी गराइयो भन्ने विषयमा समेत खोजबिन भइरहेको छ ।’
उच्चस्रोतका अनुसार तत्कालीन प्रशासन विभाग प्रमख दीपक अधिकारीले कार्यपालिकाको बोर्डमा २ जनाको नाम सिफारिस गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत परियारले स्वीकृत गरेका थिए । परियारले व्यञ्जनकार र लम्सालको नाममा पत्र तयार गरी टिकटसमेत व्यवस्था गरिदिएका थिए ।
उक्त प्रकरणमा अख्तियारमा बयान दिन पुग्नेमा आठौं तहका लेखाअधिकृत श्याम न्यौपाने, भुक्तानी गर्न चेकमा हस्ताक्षर गर्ने लेखाअधिकृत नारायणसिंह भण्डारी, आन्तरिक लेखा परीक्षण शाखा प्रमुख यादव घिमिरे लेखाअधिकृत सरु सोती र लेखापाल मञ्जुल लिम्बू छन् ।
एक सातायता अख्तियारले सबै जनालाई बयानमा बोलाइरहेको छ । सो विषयमा मेयर साहसँग समेत सोधपुछ गर्ने तयारी रहेको बताइएको छ । गतवर्ष मे १४ देखि २५ तारिखमा फ्रान्समा ७७ औं फिल्म फेस्टिबल भएको थियो । सो कार्यक्रममा मेयर साहलाई मात्र निम्तो आएको थियो । तर मेयरसँगै सचिवालयका सदस्य व्यञ्जनकार र लम्सालको भ्रमण स्वीकृत भएको थियो । त्यसबापत २० लाख ४९ हजार १ सय ६५ रुपियाँ भुक्तानी भएको थियो ।
महानगरविरुद्ध अख्तियारमा उजुरीको चाङ छ । खरिदपिच्छे उजुरी परेको छ । काठमाडौं महानगरविरुद्ध आर्थिक वर्ष २०८०–८१ मा २७३ वटा उजुरी परेको छ । अख्तियारले उजुरी फछ्यौटमा ढिलासुस्ती गर्दा उनीहरु अनियमितता गर्न झनै हौसिएका छन् ।
बालेनका स्वकीय सचिव भुपदेव शाह, सल्लाहकार सुनिल लम्साल, सशिन पोखरेल, सुदीप ढकाल र कलाकार अर्जुन घिमिरे ‘पाँडेकाजी’ यी सबैलाई गाडी सुविधा दिइएको छ । सुनिल लम्साल र सुदीप ढकालले महानगरको पैसामा अनलाइन खरिद गरेर समाचार पोर्टल चलाएका छन्।