माओवादी भएर चुनाव जितेपछि ग्रामथानका अध्यक्ष नमोनारायणको अचाक्ली शासन

मंगलबार, फागुन २०, २०८१

कांग्रेसले टिकट नदिएपछि माओवादी प्रवेश गरेर मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचन मार्फत अध्यक्ष जितेका नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षका सवारीसाधनको चाबी खोसेका छन् ।

कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन् । “आज (फागुन २०) कार्यपालिका बैठक थियो, हामीले बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति गरेका थियौँ । यही रिसमा मेरो गाडीको चाबी खोसिएको हो,” उनले भनिन्, “अध्यक्षले माओवादी कार्यकर्ता खटाएर चाबी खोस्न लगाउनुभयो ।”

गएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवार बनेर माझी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनी आएसँगै नेपाली कांग्रेस र नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गर्दै आएका छन् ।

माघ २९ गतेको कार्यपालिका बैठकका निर्णय पनि कार्यान्वयन गर्न उच्च अदालत विराटनगरले रोक लगाएको छ । कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीले अदालतमा रिट दायर गरेकी थिइन् ।

ग्रामथान–२ का वडाध्यक्ष यादव खतिवडाको मोटरसाइकलको चाबी समेत खोसिएको छ  । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्