बागमती प्रदेशमा नयाँ ओएन्डएम लागु भएपछि १४४ दरबन्दी कोल्याप्स, ४ हजार ६८० कायम

शुक्रबार, असोज २, २०८३

बागमती प्रदेश सरकारले प्रदेश संरचनाअन्तर्गतका कर्मचारी दरबन्दी पुनरवलोकन गर्दै १४४ पद घटाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय र मातहतका कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) स्वीकृत गरेसँगै प्रदेशमा स्वीकृत कर्मचारी दरबन्दी ४ हजार ६८० मा झरेको छ।

बिहीबार (हिजो) साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका ८ मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका कार्यालयको नयाँ संगठन संरचना स्वीकृत गरेको हो। नयाँ संरचनाअनुसार प्रदेशभरका कार्यालयको संख्या १८० कायम गरिएको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीले बताए।

यसअघि प्रदेश सरकारसँग ४ हजार ८१४ कर्मचारी दरबन्दी थियो। नयाँ ओएन्डएम लागु भएपछि १४४ दरबन्दी घटाएर ४ हजार ६८० कायम गरिएको प्रवक्ता केसीले बताए।

तर, आवश्यकताका आधारमा केही क्षेत्रमा अस्थायी जनशक्ति थप गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ। समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत २४ जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको छ।

सदस्य सचिव र कार्यालय सहयोगीसहितको उक्त टोलीले समस्याग्रस्त सहकारी व्यवस्थापनको काम गर्नेछ। सम्बन्धित काम पूरा भएपछि यो दरबन्दी स्वतः समाप्त हुने मन्त्री केसीले बताए।

यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका सरसफाइ डिभिजनमा ९० जना अस्थायी कर्मचारी राख्ने बाटो पनि खुलाइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्