निजामती विधेयकको टन्टलापुर घाम, सहसचिवले राजीनामा दिन थाले धमाधम

शुक्रबार, असोज २, २०८३

दुई तिहाई मत आसपासको एकलौटी सरकारले ल्याउन लागेको निजामती विधेयकका प्रावधानको छर्राले निजामती भित्रका सहसचिवको ओठ तालु सुकाएको संकेत मिल्न थालेको छ ।

अन्य तहका कर्मचारीलाई भन्दा पनि सहसचिवलाई ज्यादा पिरोलेको राजीनामा दिएर बाटो तताएकाको सूचीले बोलेको हो । विधेयकको मस्यौदाको तीस बर्षे सेवा अवधि र ५५ वर्षे उमेर हदले कर्मचारीमा भयको भुसे आगो दिनानुदिन सल्किन थालेको हो ।

उमेर पनि माथितिरै र जागिरे वर्षको सिढी पनि झन् थपिने क्रममा रहेका कर्मचारी धमाधम बाटो तताउने क्रममा छन् । उपसचिव र सहसचिवको बाक्लो संख्याले राजीनामा दिएको देखिएको छ । केही सचिव समेत राजीनामा दिएर हिडिसकेका छन् ।

सचिव बढुवाको स्वभाविक हकदार समेतले राजीनामा दिएका छन् । ३०-५५ ले नछुने सहसचिव प्रदीपराज अधिकारी ४८ वर्षको उमेरमा राजीनामा दिएर बाहिरिएका छन् । त्यस्तै अझै दुईवर्ष अवधि रहेका सहसचिव ऋषिराज आचार्यले पनि राजीनामा दिईसकेका छन् । 

त्यस्तै रक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डित, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत सहसचिव रामहरि ज्ञवालीले जागिर खानुभन्दा घरै बस्नु काईदा भएको निचोड निकालेर पेन्सनपट्टा हत्याएका छन् ।

३०-५५ लागू नहुने साढे ३ वर्ष बढी जागिर भएकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शिवादेवी दाहालले पनि राजीनामा दिएर हिँडेकी छिन्। २०८६ माघसम्म जागिर रहेकी दाहाल सरकारी सेवाबाट अलग भइसकेकी छिन्। उनलाई पनि जागिर भन्दा घर धन्दा सम्हाल्नु नै उचित लागेको छ ।

उता, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख सहसचिव गोपीकृष्ण कोइरालाले पनि राजीनामा दिइसकेका छन्। राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव लोकप्रसाद न्यौपानेले साढे ५६ वर्षकै उमेरमा राजीनामा दिएर आफ्नो बाटो लागेका छन्।

२०८४ मंसिरसम्म जागिर बाँकी रहेका सहसचिव टेकनारायण पौडेल पनि राजीनामा दिएर हिँडेका छन्। सहसचिवहरु विनोद लामिछाने, चन्द्रबहादुर शिवाकोटी, लेखनाथ ज्ञवाली,हरिप्रसाद घिमिरे,खिमबहादुर रायामाझी र शिवराम गेलाल ले राजीनामा दिईसकेका छन् ।

राजीनामा दिने लाईनमा अझै ढेड दुई दर्जन सहसचिव र उपसचिव साईत हेराएरै बसेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  ०९:३८
प्रतिक्रिया दिनुहोस्