काङ्ग्रेसले सरकारको कामकारबाहीको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने

सोमबार, फागुन १९, २०८१

नेपाली काङ्ग्रेसले सरकारको कामकारबाहीको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको छ । आफू नेतृत्वको सरकारका पालमा भएका काम र  गठबन्धन सरकारमा सहभागी हुँदा काङ्ग्रेसले गरेको कामको प्रचारका लागि कार्यकर्ता परिचालन गर्ने भएको हो ।

आफूहरूले गरेको कामको प्रभावकारी प्रचार नहुँदा प्रतिस्पर्धी दलले लाभ उठाएको भन्दै काङ्ग्रेसले अगुवाइ गरेको कामकारबाही जनतालाई बुझाउने अभियान सञ्चालन हुन लागेको साे पार्टीले जनाएकाे छ ।

सोमबार भैरहवामा आयोजित नेपाली काङ्ग्रेस राष्ट्रिय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षणपछि मतदाता समक्ष पुग्ने अभियान सञ्चालन हुने बताए । ‘हामीले गरेका कामकारबाही र योजनाबारे जनतालाई हामीले प्रभावकारीर रुपमा प्रस्ट नपार्दा हाम्रा प्रतिस्पर्धीहरूले त्यसको लाभ पाए । यो प्रशिक्षण काङ्ग्रेसले गरेका काम र योजनाबारे बुझाउने र मतदातासमक्ष लाने योजनबारे पनि केन्द्रित छ । प्रशिक्षणपछि वडा-वडासम्म पुगेर काङ्ग्रेस सरकारमा सहभागी हुँदा गरेका कामबारे मतदातालाई बुझाउन सबै जना खटिनुहुनेछ,’ उनले भने ।

पार्टीलाई एक ढिक्का बनाउँदै २०८४ को चुनावमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्ने खड्काले बताए । ‘२०८४ मा सभापति शेरबहादुर देउवाको नेतृत्वमा एक ढिक्का भएर निष्ठापूर्वक र अनुशासनको लेपमा बसेर जानुपर्छ,’  उनले भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहमा बहुमतको सरकार बनाउने अभियानमा हामी जानुपर्छ ।’

पार्टीभित्रको प्रतिस्पर्धालाई आत्मीय बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ । अभिमुखीकरण कार्यक्रम जनतामा जाने अभियानमा केन्द्रित रहेको उनले जनाए । क्षेत्रीय सभापतिलाई अभिमुखीकरण दिने र उनीहरूले जिल्ला, पालिका र वडासम्म अभियान लिएर अघि बढ्ने खड्काले बताए ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्