मौसमको खराबीका कारण तीन जहाज भारत र चीन तर्फ ‘डाइभर्ट’

शुक्रबार, फागुन १६, २०८१

भिजिबिलिटी कम भएपछि नेपाल आएका तीनवटा जहाज ‘डाइभर्ट’ भएका छन्। नेपाल एयरलाइन्स, सिचुवान एयरलाइन्स र कतार एयरवेजको जहाज डाइभर्ट गरिएको हो। 

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले तीनवटा जहाज डाइभर्ट भइसकेको जानकारी दिए।  

‘आईएफआरअनुसार विमानको क्याटेगोरीअनुसार कतिपय ११ सय मिटर भिजिबिलिटीमै अवतरण गर्न सक्छन्’, उनले भने, ‘कतिपयलाई भने २८ सय मिटर चाहिन्छ। आन्तरिक उडानको लागि त्रिभुवन विमानस्थलमा कुनै समस्या छैन।’ 

अन्तर्राष्ट्रिय उडानमा भने १६ सय मिटर मात्र भिजिबिलिटी हुँदा कतिपय जहाज अवतरण गर्न नसकेको उनले बताए। प्रवक्ता शेर्पाका अनुसार मलेसियाको राजधानी क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज भारतको नयाँ दिल्लीमा डाइभर्ट भएको छ।

त्यस्तै, तियाङफुबाट आएको सिचुवान एयरको विमान ल्हासा र दोहाबाट आएको कतार एयरवेजको जहाज भारतको कलकत्ता डाइभर्ट गरिएको छ। यद्यपि ६ वटा अन्य जहाज भने त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको विमानस्थलले जनाएको छ। 

हिमालय एयरलाइन्स, एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्नलगायत ल्यान्ड भएका हुन्। अहिले विमानस्थलमा भिजिबिलिटी क्रमश: बढिरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्