पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर के निर्णय गर्दैछन् देउवा ?

शुक्रबार, फागुन १६, २०८१

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

आफ्नै निवास बूढानीलकण्ठमा आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा सदनमा रहेका विधेयक अघि बढाउने प्रमुख विषय रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मुख्यसचिव पौडेलका अनुसार पार्टीका भातृ संस्थाको अधिवेशन सहजीकरणका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

“सदनमा रहेका विधेयकहरू जसको संघीयता कार्यान्वयनमा विशेष महत्व छ । ती विधेयक अघि बढाउने विषयमा छलफल हुनेछ,” राष्ट्रियसभा सदस्यसमेत रहेका मुख्यसचिव पौडेलले भने, “भातृ संस्थामध्ये केहीको महाधिवेशन हुँदै छ, केहीलाई सहजीकरण गर्नुपर्ने अवस्था छ । त्यो विषय पनि छलफलको मुद्दा हो ।” 

उनले संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषय पनि बैठकको एजेन्डा रहेको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्