नेप्सेको सीईओ खोज्न अर्थमन्त्रीले हिजो समिति बनाए, आजै गरियो विज्ञापन

सोमबार, फागुन १२, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रक्रियाले बाँकटे हानेको छ। फागुन ११ गते आईतबार मात्र अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई संयोजक तोकेर सिईओ छान्न तीन सदस्यीय समिति खडा गरेका थिए। 

पोखरेलको कप्तानीमा बनाईएको सीईओ नियुक्ति सिफारिस समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा डा. खोमराज खरेललाई तोकिएको छ। 

गत माघ २६ गतेबाट कार्यकाल पूरा गरेर निवर्तमान सीईओ कृष्ण बहादुर कार्की बाहिरीपछि नेप्से खाली छ। हिजो बनेको समितिले आजै नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। 

खुल्ला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को क. बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त माग गरेको हो ।

उम्मेदवारहरु अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने छ ।

साथै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने छ ।

योग्यता पुगेका उम्मेदवारहरुले आवेदनसाथ दुईप्रति पासपोर्ट साइजको फोटो र चारप्रति व्यावसायिक कार्ययोजना पेस गर्नुपर्ने छ ।nepse-ceo-1740359983.jpg

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्