सरकारले प्रतिनिधिसभामा टेबुल गरेका आधा दर्जन अध्यादेशको बिजोग

आइतबार, माघ २७, २०८१

सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आइतबारको कार्यसूचीमा परेका छैनन्। 

हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा टेबुल भएका अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन्। ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरे पनि पछिल्ला बैठकमा अध्यादेश कार्यसूचीमै पर्न छाडेका हुन्। 

हिउँदे अधिवेशनअन्तर्गत दोस्रो दिनको बैठकमा कार्यसूचीमा राखेर हटाइएका अध्यादेश त्यसपछिका बैठकमा राखिएको छैन । प्रतिनिधिसभामा दुई तिहाई बहुमत नजिक रहेको सरकार राष्ट्रिय सभामा अल्पमतमा हुँदा अध्यादेश कार्यसूचीमा नपरेका हुन्। 

राष्ट्रियसभाबाट पारित गर्नका लागि जनता समाजवादी पार्टी जसपा नेपालसँग छलफल भए पनि कुरा नमिल्दा अध्यादेश अन्योलमा पुगेका हुन् । सरकारले ल्याएका अध्यादेश संसदबाट स्वीकार भएपछि प्रतिस्थापन विधेयक ल्याउने संवैधानिक व्यवस्था छ। स्वीकार नभएमा भने स्वतः निस्कृय हुनेछन् । 

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक सवा १ बजेका लागि बोलाइएको छ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्