अदालतमा हाजिर हुन रविले उतै बिताए रात, तामझाम सहित आजै हाजिर

बुधबार, माघ ९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका छन् । यसका लागि रवि मंगलबार नै भैरहवा पुगिसकेका छन् ।  

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि उनी जिल्ला अदालत रूपन्देहीमा हाजिर हुने भएका हुन् ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा आइतबार मात्रै मुद्दा दर्ता गरिएको थियो ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको छ । 

यसअघि सहकारी ठगी आरोपमा कास्की र काठमाडौं जिल्ला अदालतबाट लामिछाने क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्