ओलीले ‘बिआरआई’मा ल्याप्चे ठोकेपछि एमसीसीले थप्यो पाँच करोड डलर

शुक्रबार, पुस १९, २०८१

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् ‘बिआरआई’ परियोजना कार्यान्वयन योजना मस्यौदामा हस्ताक्षर गरेपछि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो ।

यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो । यसमा नेपालले १९.७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ ।

नेपालको प्रसारण लाइन र सडक स्तरोन्नतिको लागि अमेरिकाले ५५ करोड अमेरिकी डलर अनुदान दिएको हो । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।

बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।  

‘बिआरआई’ परियोजनामा ओलीले सहिछाप गरेपछि अमेरिका र भारत नेपाल प्रति सकारात्मक नभएकै बेला पाँच करोड डलर थपिनुले महत्वपूर्ण अर्थ रहने जानकारहरूको तर्क छ। 

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्