सोसल मिडिया
युनिकोड
काठमाडौँ महानगरका मेयर बालेन साहले प्रमुख प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको अनियमितता छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधिशको संयोजकत्वमा जाँच गर्न समिति गठन गरेका छन्।
गुरागाईले महानगरको सिस्टम बाहिरबाट काठमाडौं टावरको नक्सापास गरेको महानगरले आरोप लगाएको छ। त्यसैको छानबिन गर्न समिति खडा गरिएको मेयर साहको सचिवालयले जानकारी दिएको छ।
भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको ठहर सहित गुरागाईलाई कार्यालय नआउन बालेनले आदेश दिएका थिए। ८ गतेदेखि १७ गतेसम्म बिदा लिएर गुरागाई घरै बसेका छन्। उनलाई मेयरले ५ गतेदेखि महानगर प्रवेशमा रोक लगाएका छन्।
महानगरले यो विषयमा पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजनाका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य रहने गरी समिति गठन भएको हो ।
पुस १४ गते समिति गठन भए पनि समितिले पुस १६ गते मात्र काम गर्ने पत्र पाएको छ । समितिलाई १५ दिनको समय दिएर अध्ययन र छानबिन गर्ने समय तोकिएको महानगरले बताएको छ। त्यो समय सम्म गुरागाईलाई काम गर्न नदिने मेयरको सचिवालयले प्रष्ट सँग भनेको छ। तर, गुरागाईले भने पुस १८ गतेदेखि हाजिर हुन महानगर जाने बताईरहेका छन्।
पुरानो बसपार्कमा टावर बनाउन २० फागुन २०७१ मा निर्णय गरेर २२ फागुनमा महानगर र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिबीच सम्झौता भएको थियो ।
सोही अनुसार बिल्डर्सले १ कात्तिक २०८० मा नक्सा पास म्याद थप तथा नक्सा संशोधन गर्न (भवन निर्माण मापदण्ड २०८० का फार मापदण्ड बमोजिम) निवेदन पेस गरेको थियो ।
तर, जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सुपर स्ट्रक्चर नलिई निर्माण गरेको भन्दै जम्मा बेसमेन्ट सहित १२ तलाका लागि जरिबाना लिई नक्सा पास प्रक्रिया अगाडि बढाएको थियो ।
विभिन्न समयमा महानगरको आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत नक्सा पास प्रक्रिया अगाडि बढाइएको थियो । सोही प्रक्रियामा १२ तलाको नक्सा पास अगाडि बढाउनुपर्नेमा १९ तलाको संशोधित नक्सा पेस गरेको भन्दै नक्सा सम्झौता विपरति भएकाले नक्सा संशोधन प्रक्रिया रोकिएको थियो ।
महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकै पालामा सो विषय अगाडी बढेको थियो। तर उनी पनि विवादमा तानिएर महानगर छोड्नु पर्ने अबस्थामा पुगे। स्वास्थ्य केन्द्रमा चोरबाटो बाट कर्मचारी नियुक्ति गर्न खोजेपछि उनलाई पनि बालेनले खेदाएका थिए। बसन्तपछि प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रदीप परियार महानगर पुगे उनले पनि त्यसलाई जस्ताको त्यस्तै छोडिदिए। उनीपछि महानगर पुगेका गुरागाईं तीन महिनामै लफडामा परेका छन्। उनले महानगरमा कमब्याक गर्ने सम्भावना नभएको महानगर श्रोतको दाबी छ।