सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष केपी ओलीले आफूलाई एमालेको भैसेपाटी ईन्चार्ज पनि नदिएको गुनासो गर्दै आएका बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने चर्चा चलेको लामै समय भयो। यो बीचमा उनले पटक-पटक वार्ता पनि चलाए। तर उनको वार्ताले फल निकाल्ने संकेत भने अझै मिलेको छैन।
पुस १५ गते पार्टी एकताबारे छलफल गर्न एकीकृत समाजवादीको मूख्यालय आलोकनगर पुगेका नेकपा एकता अभियानका संयोजक गौतम कुरा नमिलेपछि अनुहार अँध्यारो बनाएर घर फर्किएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्न आज दिउँसो गौतम आलोकनगर पुगेका थिए । तर, माधवसँग कुरा नमिलेको स्रोतले जनाएको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने विषयमा गौतम र नेपालबीच कुरा नमिलेको बताईएको छ ।
आजको भेटमा नेताहरुको व्यवस्थापनबारे पनि कुरा भएको तर, सहमति नभएको स्रोतले जनाएको छ । एकीकृत समाजवादीमा जान लागेका गौतम आफ्नो अभियानलाई एकीकृत समाजवादीमा मिसाउन चाहन्छन् । उनलाई एकीकृत समाजवादीले तेस्रो वरीयता दिने तयारी गरेको छ । अन्य नेताहरूको व्यवस्थापनको टुंगो भने लागिसकेको छैन ।
एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले शर्त अगाडि सारेका छन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीले स्वीकार गरेर अगाडि बढ्नुपर्ने उनको शर्त छ । तर, पार्टीको दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल भने जबजको विरुद्धमा छन् ।
सर्वोच्च अदालतले तत्कालीन नेकपालाई छिन्नभिन्न बनाईदिएपछि निष्कृय बनेका गौतमले २०७८ भदौ १८ गते नेकपा एमाले परित्यागको घोषणा गरेका थिए। त्यसबेला गौतम एमालेको उपाध्यक्ष थिए।
त्यसपछि गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरी त्यसको संयोजकको भूमिकामा रहेका छन्। उनी हाल राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सांसद छन्। उनले डिबी कार्कीको नेतृत्वमा वार्ता समिति पनि बनाएका छन्। तर, कुरा मिल्ने संकेत भने मिलेको छैन।