रास्वपाको संसदीय दल नपाए स्वर्णिम बटारिने, पार्टी टुटाउने सम्मको गणित मिलाए

शनिबार, पुस १३, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीको अभियोगमा कास्की प्रहरीको हिरासतमा दिन कटाई रहेका छन्। उनको कास्की जिल्ला अदालतमा बयान सकिएको छ। अब थुनछेक बहसपछि उनी हिरासतमुक्त हुने हुन् या पुर्पक्षका लागि थुनामा जाने हुन् केही दिनमै थाहा हुने छ। 

सभापति लामिछाने विरुद्ध मुद्दा दायर भएपछि पार्टीका उपसभापति डोलप्रसाद डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । अर्याललाई उक्त जिम्मेवारी दिएपछि सो पार्टीमा भुसको आगो सल्किने लक्षण देखा पर्न थालेको छ।  

सम्पत्ति शुद्धिकरणको कसुरमा लामिछाने विरुद्ध मुद्दा दायर भएपछि लामिछाने प्रतिनिधिसभा सदस्यबाट पनि निलम्बित भइसकेका छन् । पार्टी सभापति लामिछानेको ठाउँमा अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी पाएकाले आफूले संसदीय दलको जिम्मेवारी पाउनु पर्ने धारणा पार्टीमा अर्का उपसभापति स्वर्णिम वाग्लेले राख्न थालेका छन् । आफूलाई संसदीय दलको जिम्मेवारी नदिए देखिनेगरी विद्रोह गर्ने सन्देश वाग्लेले लामिछाने सहितको नेतृत्वलाई पुर्‍याईसकेको स्रोतको दाबी छ ।  

समानुपातिकबाट सांसद भएका अर्याललाई संसदीय दलको नेता बनाइए विद्रोह गर्ने मुडमा रास्वपा संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ समेत रहेको स्रोतको दाबी छ । 

‘स्वर्णिम दाईले कार्यवाहक सभापतिको जिम्मेवारी आफूले पाउनुपर्ने धारणा राख्नुभएको थियो । यद्यपि सभापतिको रुचि भन्दै डिपीजीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । हाल कार्यवाहक सभापतिको जिम्मेवारीको विषयमा पार्टीभित्र फरक मत छैन’ रास्वपाका एक सांसदले भने, ‘संसदीय दलको नेताको जिम्मेवारी पनि पार्टी सभापतिको रुचि भन्दै डिपीजीलाई नै दियो भने पार्टीभित्र ठूलो विद्रोह हुन्छ । त्यसले समग्र पार्टीलाई नै कमजोर बनाउने निश्चित छ ।’

रास्वपाको विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारमा दुई उपसभापतिमध्ये उमेरमा जेष्ठ उपसभापतिले वा सभापतिले तोकेको उपसभापतिले सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिका रुपमा सभापतिको कार्य गर्ने उल्लेख छ । यसैगरी उपसभापति वा उपप्रमुख पदमा एकभन्दा बढी सदस्य जिम्मेवारीमारहे उमेरले ज्येष्ठ उपसभापति वा उपप्रमुखले कार्यवाहक सभापति वा प्रमुखको जिम्मेवारीमा कार्यसम्पादन गर्नेविधानमा उल्लेख छ ।

वाग्ले २०३१ साल जेठ १६ गतेका हुन् भने अर्याल २०३१ भदौ ६ मा जन्मिएका हुन्।  तर, उमेरले ज्येष्ठ रहेका वाग्लेलाई रवि र पार्टीले कार्यवाहक सभापति पद दिन अस्वीकार गरेको हो । 

राजनीतिमा उच्च महत्वाकांक्षा भएका वाग्ले धैर्य हुँदै पद प्राप्त गर्नुभन्दा पनि जहिल्यै उच्चतम स्थानमा आफूले जिम्मेवारी पाउनुपर्ने धारणा राख्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा वाग्ले भन्दा डिपी अर्यालको भूमिका भएकाले पार्टी सभापति लामिछानेले जसलाई चाहन्छन् उसैले संसदीय दलको नेताको जिम्मेवारी पाउनुपर्ने डिपी निकट नेताहरूको तर्क छ । 

वाग्ले कांग्रेसले सांसदको टिकट नदिएपछि रवि लामिछानेको सम्पर्कमा पुगेका हुन्। कांग्रेसले उनलाई राष्ट्रिय योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष समेत बनाएको थियो। तर उनी जता अवसर प्राप्त हुन्छ उतै लाग्ने स्वभावको हुँदा रास्वपामा पनि सोही स्वभाव देखाउने निश्चित रहेको उनलाई जान्ने बुझ्ने बताउँछन्। रवि पुर्पक्षमा जाने संकेत पाएका वाग्ले जसरी पनि दलको नेता हुने अभियानमा लागेका छन्। अन्यथा उनले पार्टीलाई टुटाउने सम्मको गणित मिलाएको रास्वपाकै उच्च श्रोत बताउँछ। 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्