प्रेम राईले गरेका कसुर बटुल्दै मुख्यसचिव, अनि भयो पर्यटन सचिवको सरूवा

बुधबार, वैशाख २६, २०८१

बहुचर्चित टेरामक्स प्रविधि घोटाला प्रकरणको अनुसन्धान झन्-झन् गिजोलिदै जान थालेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिको अनुसन्धान सकियो आजै भोलि ठूला माछा पछारिन्छन् भन्ने हल्ला चलेको पनि महिनौ बितिसक्यो। तर, यसको छेकछन्द समेत छैन।  

स्वयम् अख्तियार प्रमुख प्रेम राईले अहिल्यै तुरुन्तै विशेष अदालतमा टेरामक्स मुद्दा दायर हुन्छ भनेर सार्वजनिक रुपमै बोले। उनैले भनेपछि पत्याउन पनि करै लाग्यो। तर, न राईले मुद्दा दायर गरे न त अनुसन्धान नै सकाए।  मात्र यो मुद्दा देखाउने दाँत मात्र स्वयम् अख्तियारले बनायो। 

अख्तियार आफैले टेरामक्स लामो समयदेखि ‘ब्रेक थ्रु’ गर्न सकिरहेको छैन ।  संसदको सार्वजनिक लेखा समितिमा अख्तियार प्रमुख राईले टेरामक्स प्रविधिको छानबिन टुंगोमा पुग्न लागेको दाबी गरेको पनि महिनौं भयो । तर, ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेझैं हुन पुगेको छ टेरामक्स । उल्टै टेरामक्स प्रविधि घोटालामा जोडिएकाहरु सल्बलाउन थालेका छन् ।

टेरामक्स प्रविधि छोटालामा जोडिएका तत्कालीन दुई सञ्चारमन्त्री र एक सचिव मुद्दाबाट जोगिन तीव्र ‘लबिइङ’मा लागेको स्रोतको दाबी छ । टेरामक्समा तत्कालीन सञ्चारमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेतलाई जोगाएर विशेष अदालतमा मुद्दा लान अख्तियारमाथि दबाब आइरहेको चर्चा छ । कार्कीको हकमा त पूर्वराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्रीसम्म संरक्षणमा लागेको चर्चा चलेको हो । त्यस्तै तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव (हालका मुख्यसचिव) डा. बैकुण्ठ अर्याललाई पनि जोगाउन चलखेल भइरहेको दाबी गरिएको छ । विश्वस्त स्रोतका अनुसार टेरामक्समा मुख्यसचिव डा. अर्याललाई सरकारी साक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गर्न अख्तियारमाथि दबाब परेको हो ।

मुख्यसचिव अर्याल टेरामक्सलगायतका भ्रष्टाचारका मुद्दाबाट जोगिन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सन्यासीहरुसँग पुगेर हारगुहार गरिरहेको कुरा ‘ओपन सेक्रेट’ जस्तै भएको छ । उनी ओशो तपोवनमार्फत सल्बलाउन थालेको पाइन्छ । नेपालका ठूल्ठूला व्यापारिक घरानादेखि स्वामी आनन्द अरुणसँग मुख्यसचिव अर्यालको हिमचिम निकै बढ्न थालेको छ । टेरामक्स र आईटी माफिया विकल पौडेलसँग आर्थिक लेनदेनको तथ्य सार्वजनिक भएपछि एकैपछि सुगर र प्रेसरको औषधि खान थालेका उनी तपोवनको ‘हिलिङ’पछि ‘फिलिङ’मा आइसकेको चर्चा हुन थालेको हो । अख्तियार धाइरहेका अर्याल अहिले शक्तिपीठ धाउन थालेका छन् ।

एकाएक मुख्यसचिव अर्याल अख्तियारका राईकै उल्टो सूर बाँध्न थालेका छन्। राई पनि निजामति सेवाबाट घर जानुअघि अभयदान पाएर अख्तियार पुगेका हुन्। मुख्यसचिव बन्न राईले पनि उ बेला अनेक जुक्ति लगाएकै हुन्, पार नलागेको मात्र हो। सहसचिव हुँदा र सचिव हुँदा राईले कहाँ-कहाँ उपद्रो गरे त्यसको सबै सरदम अहिले मुखासचिव अर्यालको दराजमा थन्किएको छ। अपुग भएको र राईले कसुर गरेको प्रमाण भेला गर्न मुख्यसचिव अर्यालले अहिले एउटा गोप्य टोली नै परिचालन गरेका छन्। 

हुन त राई पनि दुधले नुहाएका व्यक्ति चाँही होइनन्। संखुवासभामा जन्मे हुर्केका राईले उपसचिव नहुँदै घट्टेकुलोमा तीन तले घर कसरी बनाए त्यसको श्रोत उधिन्न मुख्यसचिवको अधिकृतस्तरको टोली अहिले जिनिस केलाउँदै हिडेको छ। उनले सचिवबाट अवकाश पाउनु केही दिन अघि राजिनामा दिए। काविल प्रशासक भनेर चिनिने र चिनाउने राईले राजीनामा दिनुको अन्तर्य भनेकै मासिक पुगनपुग पाँच हजार बढी पेन्सन आउनु हो। पाँच हजारकै लागि लत्तो छोड्ने राईले अरु के-के छोड्या होला र ? भन्दै मुख्यसचिव आफैं राईको कसुर खोजबिनमा लागेको श्रोतको भनाई छ।  

अझ, अख्तियारका प्रमुख राईलाई नै उल्टै सेकाउने गरिका प्रमाण हत्याउन अर्यालले आफ्ना अति निकट विश्वासपात्र गणेश पाण्डेलाई पर्यटनको सचिव बनाएर मन्त्रालय पठाएका छन्। १० फागुन २०७२ देखि २६ भदौ २०७३ सम्म राई पर्यटन मन्त्रालयको सचिव भएका थिए। 

२०७५ मै संसदको लेखा समितिअन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान खरिद प्रकरणमा राईलाई निलम्बन गर्न सिफारिस गरेको थियो। ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको समितिले राईलाई पनि मतियार बनाएको थियो। राईले पर्यटन सचिव हुँदा चलखेल गरेको समितिको निचोड थियो। 

राईलाई कारबाहीको सिफारिस गर्नुको कारण उनी पहिले पर्यटन मन्त्रालयका सचिव थिए । मन्त्रालयका सचिव नै निगमका अध्यक्ष हुने व्यवस्थाका कारण राईले निगमको नेतृत्वसमेत लिएका थिए। अर्थातः उनी वायु सेवा निगमका पूर्वअध्यक्ष समेत हुन् ।

तर, आफै अख्तियारको प्रमुख आयुक्त भएपछी राईले आफैलाई जोगाए। उनले ३२ जनालाई प्रतिवादी बनाएर वाइडवडी मुद्दा २२ चैत्र २०८० मा विशेष अदालतमा दायर गरे। हो, यसैलाई आधार मानेर आफ्ना विरुद्व जाईलागे राईलाई भविष्यमै भएपनि अमनचयनले बस्न नदिने नीति अन्तर्गत अहिले मुख्यसचिव राई उधिन्ने अभियानमा होमिएका छन्। 

लेखा समिति र महालेखापरीक्षकको प्रतिवेदन र राई पर्यटन सचिव हुँदा गरेको निर्णयले राई सोझै वाइडवडीमा पर्ने कसुर गरेका व्यक्ति हुन्। त्यसको थप प्रमाण लिन र त्यसको स्वभाव र चरित्र केलाउन गणेश पाण्डेलाई पर्यटन सचिव बनाएर पठाएको अर्याल निकट श्रोतको दाबी छ। 

हुन पनि पर्यटन मन्त्री हितबहादुर तामाङ्गले अर्कै सचिवलाई वचन दिएका थिए। विभागीय मन्त्रीलाई पाखा लगाएर मुख्यसचिवले पाण्डेलाई निश्चित उदेश्यकाका लागि पर्यटन पठाएका हुन्। अझ राईले गृहसचिव हुँदा गरेको कसुर त पहिल्यै बिनोद सिह मार्फत बटुलिसकेका छन्। 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्