Dashain Banner
Dashain Banner

अन्ठाउन्नेले मंसीरमै बर्को ओढाएपछि मुख्यसचिव सहितका यी कर्मचारी घरमै थन्किने

सोमबार, मंसिर १, २०८२

मंसीर महिनामा एक मुख्यसचिव सहित दुई सचिव पद रिक्त हुने भएको छ। वरिष्ठ सचिव मध्येका एक जना मुख्यसचिव नियुक्त हुँदाका बखत तीन सचिव पद रिक्त हुने छन्। वरिष्ठ तीन सहसचिवले मंसीर सकिदासम्ममा सचिवमा बढुवा खान पाउने छन्। 

मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतमको मंसीरदेखि घर बसाई हुने भएको हो। 

मुख्यसचिव अर्याल र प्रधानमन्त्री कार्यालयका कानुन सचिव गौतम ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव दुवाडी ५ वर्षे कार्यकालले अवकाशमा जान लागेका छन्।

मुख्यसचिव अर्याल र राष्ट्रिय योजना आयोगका सचिव दुवाडी यही मंसिर ९ गते घर जाँदैछन्। २०८१ भदौ १३ गते मुख्यसचिव बनेका अर्याल करिब १५ महिना मुख्यसचिव चलाए घर जान लागेका हुन्। २०७७ मंसिर १० गते सचिवमा बढुवा भएका दुवाडी पनि विवादै विवादमा जेलिएर ५ वर्ष बिताए। उनी पनि आलोचित भएर घर जान लागेका छन्। उनी जेनजी आन्दोलन दबाउन भूमिका खेल्ने मध्येका एक भएर निशानामा परेका व्यक्ति समेत हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव फणिन्द्र गौतम डेढ वर्ष सचिव चलाएर अनिवार्य अवकाशमा जाँदैछन्। २०८० साल भदौ २१ गते सचिवमा बढुवा भएका गौतम मंसिर १७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने भएका हुन्। उनी दुई वर्ष बढी सचिव चलाएर घर जान लागेका हुन्।

मंसिर महिनामै आधा दर्जन बढी सहसचिव घर जाने सूचीमा छन्। मंसिर ३ मधेश प्रदेशका सचिव लालबावु कवारी, मंसिर ७ गते श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाल, मंसिर १४ गते समावेशी आयोगका सचिव कुमारप्रसाद दाहाल, मुद्रण विभागका महानिर्देशक गोपाल कोईराला मंसिर ९ गते र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ईन्द्रप्रसाद बस्याल मंसिर २७ गते ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। भेटेरिनरी गुणस्तर तथा औषधी नियमन प्रयोगशालाकी प्रमुख सलिना मानन्धर ५८ वर्ष लागेर मंसिर १५ गते अनिवार्य अवकाशमा जाँदैछिन्।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १३:२७
प्रतिक्रिया दिनुहोस्