नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करारमा जागिर खानेलाई अख्तियारको काँजो

मंगलबार, मंसिर ८, २०८३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी करार सेवामा सरकारी जागिर खाएको आरोपमा एक कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको अख्तियारको आरोप छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मगरले उक्त प्रमाणपत्रका आधारमा सुरुमा रुम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सब–इन्जिनियर पदमा करार सेवामा काम गरेका थिए ।

नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा लिएको देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले उक्त कसुरमा सोही कानुनी व्यवस्थाबमोजिम कैद र जरिवाना सजाय गर्न मागदाबी गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:२९
प्रतिक्रिया दिनुहोस्