मुख्यसचिवको तराजुमा अर्याल र कर्णको पल्ला, बन्न चाँही खासमा को बन्ला ? 

मंगलबार, कात्तिक २५, २०८२

निजामती सेवाको उपल्लो पद मुख्यसचिव अबको १५ दिनपछि खाली हुँदैछ। अहिलेका मुख्यसचिव एकनारायण अर्याल मंसिर ९ गते रातिबाट ५८ वर्ष पुगेर नायब सुब्बादेखि खाएको सरकारी जागिरबाट अवकाश पाउँदैछन्। 

२०२४ साल मंसिर १० गते आईतबार स्याङ्जामा जन्मिएका अर्याल मंसिर ९ घर जाने भएपछी नयाँ मुख्यसचिव खोज्न थालिएको छ।  आफू भन्दा वरिष्ठ ४ जना वरिष्ठ सचिवलाई पाखा लगाएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आशिर्वादमा मुख्यसचिव बनेका अर्याल घर जाने दिन गन्दै बसेका छन्। 

अर्याल संगै योजना आयोगका सचिव गोकर्णमणी दुवाडी पनि मंसीर १० देखि स्वयम्भुको घरमै थन्किनेछन्। त्यसपछि सचिवको एक नम्बरी वरिष्ठ  सुमनराज अर्याल मुख्यसचिवको प्रबल दाबेदार हुनेछन् । हाल रक्षा मन्त्रालयको सचिव रहेका अर्याल एकनारायण घर गएपछि पहिलो नम्बरमा चढ्ने भएकाले मुख्यसचिवमा उनको सम्भावना बढेको छ । नेपाल प्रहरीको आईजीमा बरियतामा पहिलो नम्बरमा रहेका दानबहादुर कार्की बढुवा भएको नजिर मुख्यसचिवमा पनि लागू भए सुमनको भाग्य चम्किने देखिन्छ।

२०७७ माघ १९ गते सचिवमा बढुवा भएका सुमन पनि घर जाने दिन नजिकिँदै छ। उनी मुख्यसचिव भए २०८३ असार २५ गतेसम्म पदमा रहनेछन्। सुमन २०२५ साल असार २६ गते काठमाडौंको जोरपाटीमा जन्मिएका हुन्। उनी करिब ८ महिना मात्र मुख्यसचिवको भूमिकामा रहनेछन्।

तथ्याङ्कतिरबाट आएका सुमन कोशी प्रदेशको प्रमुख सचिव, महालेखा नियन्त्रक, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिव, युवा तथा खेलकुद मन्त्रालयको सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव, राष्ट्रिय योजना आयोगको सचिव र रक्षा मन्त्रालयको सचिवको भूमिकामा काम गरिसकेका छन्। उनी तथ्याङ्कभन्दा बाहिर गएर काम गरेको भने सचिव भएपछि मात्र हो। 

पुरातत्त्वतिरका भरतमणि सुवेदी पर्यटनतिर बस्दा गरेको काममा अख्तियारपछि लागेपछि राजीनामा दिएर हिँडेको चर्चा छ। सुवेदीले मैदान खाली गर्नु नै सुमनका लागि बाटो खुला हुनु हो।

सुमनपछि खानेपानी मन्त्रालयको सचिव प्रमिलादेवी बज्राचार्य शाक्य मुख्यसचिवको लाइनमा छिन्। २०७८ असार १७ गते प्राविधिक तर्फको सचिवमा बढुवा भएकी प्रमिला महिला प्रधानमन्त्री भएका बेला मुख्यसचिव बन्ने दाउमा छिन्।

हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत सचिव मधुसुदन बुर्लाकोटी मुख्यसचिवको दाबेदार हुन्। २०७८ असार २१ गते सचिवमा बढुवा भएका बुर्लाकोटी करिब मुख्यसचिव भए भने एक वर्ष पनि चलाउँदैनन्। उनी २०८३ भदौ २६ गते ५८ वर्ष लागेर घर जानेछन्। बुर्लाकोटी २०२५ भदौ २७ गते धादिङमा जन्मिएका हुन्।

बुर्लाकोटी भन्दा ३ दिनपछि सचिवमा बढुवा भएका कृष्णहरि पुष्कर कर्ण मुख्यसचिवको लाइनमा छन्। कर्ण मुख्यसचिव भएमा मुख्यसचिवको पूरै तीन वर्षे कार्यकाल चलाउनेछन्। प्रशासन बुझेका कर्णलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री कार्की पनि राजी भएको श्रोतको भनाई छ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कर्ण ३ वर्ष नै मुख्यसचिव चलाउन पुग्ने उमेर भएका व्यक्ति भएका कारण उनी रोजाईमा पर्ने भएका हुन्। कर्ण २०३१ साल साउन १३ गते आईतबार महोत्तरीको सुगामा जन्मिएका हुन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्