हनी ट्रयापको उद्योगमा जोडिएकी निलम्बित इन्सपेक्टर बिनुलाई हिरासतमा हुलियो

आइतबार, पुस ७, २०८१

हनी ट्रयापको उद्योग चलाउने समूहसँग हिमचिम बढाएर सौदाबाजी गरेकी निलम्बित इन्सपेक्टर बिनुकुमारी शाहीलाई ललितपुर प्रहरीले हिरासतमा हुलेको छ। 

आइतबार अदालतमा उपस्थित भएकी उनको बयान र थुनछेक बहस नसकिएपछि अदालतले थुनामा राख्न ललितपुर परिसरमा पठाएको हो । उनलाई सोमबारसम्म थुनामा राख्न जिल्ला अदालतले पठाएको ललितपुर परिसरका एसएसपी शेखर खनालले बताए।

अदालत स्रोतका अनुसार बयान सम्पन्न भएपनि उनको थुनछेक बहसका लागि समय नपुगेपछि प्रहरीलाई जिम्मा लगाईएको हो । सोमबार उनको थुनछेक बहस हुनेछ। 

यसअघि फरार प्रतिवादी बनाएर उनलाई प्रहरीले संगठित अपराध र आपराधिक लाभ मुद्दा चलाएको थियो। भैंसेपाटी प्रभागको प्रमुख रहेको बेला हनि ट्रयापिङ गिरोहसँग मिलेर लाभ लिएको देखिएपछि उनीविरुद्ध मुद्दा चलेको थियो। 

जिल्ला प्रहरी परिसर, ललितपुरले यो घटनामा  ६ जनाविरुद्ध गत महिना नै मुद्दा दायर गरेको थियो। सुनसरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा, प्रहरी जवान महेन्द्र हमाललाई पक्राउ गरेर मुद्दा दायर गरिएकोमा इस्लाम जेल गएका छन् भने अन्य तीन जना छुटेका छन्। 

प्रहरीले इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेलविरुद्ध फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्