सरकार ढल्ने रोडम्यापले प्रचण्ड ढुक्क, प्रधानमन्त्री ओलीको दिनहुँको साविती बयान

आइतबार, पुस ७, २०८१

सत्ताधारी नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताबीचको हिमचिम बाक्लिन थालेको स्वयम् माओवादी केन्द्रका एक जना सचिवले खुलेर बताएका छन्। 

माओवादी केन्द्र सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले आफ्नो पार्टी र नेपाली कांग्रेसका नेताहरुबीच निरन्तर भेटघाट भइरहेको खुलासा गरेका हुन्। तर उनले आहिले कांग्रेस–माओवादीका नेताहरुबीच निरन्तर भेटवार्ता भइरहेको भएपनि सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने बारेमा भने छलफल नभएको दाबी गरेका छन्।  पौडेलले कांग्रेसले प्रस्ताव ल्याएको खण्डमा आफूहरु सरकार सम्हाल्न तयार रहेको पनि बताए ।

साथै, हिजो (शनिबार) एनपीएल हेर्न कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुग्नुले पनि सकारात्मक सन्देश दिएको उनले बताए । नेता पौडेलले देउवा–प्रचण्डबीचको त्यो भेट खेलको प्रसंगमा भएको भएपनि सन्देश भने सकारात्मक गएको बताए । ‘हिजो चाहीँ उहाँहरु एकै ठाउँमा भएर जनु म्यासेज दिनुभएको छ, सरकारको प्रसंग होईन, खेलको प्रसंग हो । म्यासेज चाहीँ सकारात्मक गएको छ, त्यसलाई हामी सकारात्मक लिनुपर्छ,’– उनले भने ।

‘अब कांग्रेससँग नयाँ गठबन्धन बन्न सक्छ ?’ भन्ने प्रश्नमा उनले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको भएपनि यो सरकार आफ्नै गतिविधि, क्रियाकलापका कारण ढल्ने दाबी गरे । ‘बन्न सक्छ । यो सरकार आफैं धेरै समय चल्छजस्तो मलाई लाग्दैन । हामी भत्काउन हिँडेका त छैनौं । तर, सरकारका आफ्नै गतिविधि, क्रियाकलाप, तरिका, शैलीका कारण यो सरकार आफ्नै कारणले ढल्ने देखिँदैछ,’– नेता पौडेलले भने ।

पछिल्ला दिनमा प्रचण्डले आफू निकटका सँग सरकार ढल्ने रोडम्याप बनिसकेकाले आफू ढुक्क रहेको बताउन थालेका छन्। यता, प्रधानमन्त्री ओलीका पछिल्ला दिनका भनाई र सरकारको आयूका विषयमा आउन थालेको साबिती बयानले पनि सरकार लामो समय जान सक्नेमा आशंका गर्न थालेको छ। 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्