समाजवादीमा भित्रिन खुट्टा उचाल्ने वामदेव, छिर्के हान्ने एमाले

आइतबार, पुस ७, २०८१

एमालेका चल्तापूर्जा पूर्व उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतम यही साता नेकपा एकीकृत समाजवादीमा भित्रँदैछन्। वामदेव तेस्रो वरीयताको पहिलो वरिष्ठ नेता बन्ने तयारी रहेको समाजवादीका एक नेताले बताए।  

समाजवादीको स्थायी कमिटीको बैठकले वामदेवलाई सम्मानित नेता झलनाथ खनाल पछाडिको वरीयतामा राख्ने निर्णय गरिसकेको छ। ‘वामदेवलाई पार्टीमा भित्र्याउने निर्णय भइसकेको छ। केही दिनमा उहाँ आउनुहुन्छ’, समाजवादीका प्रचार उपप्रमुख दामोदर अर्याल भन्छन्, ‘बैठक कतिसम्म अघि बढ्छ भन्न सक्ने अवस्था छैन।’

समाजवादीसँग सकारात्मक संवाद भए ६ वर्षपछि वामदेवको पार्टीविहीनता अन्त्य हुनेछ। यद्यपि समाजवादीका नेताहरू वार्ता मिल्छ वा मिल्दैन भन्न सकिने अवस्था नरहेको बताउँछन्। वामदेवलाई समाजवादीमा भित्र्याउन विगतमा पनि प्रयत्न नभएका होइनन्। अन्त्यतिर वार्ता भाँडिँदा र समाजवादी नेताबीच  हुँदा सफल हुन सकेन। यसपटक भने समाजवादीमा वामदेव भित्र्याउन हुँदैन भन्ने ‘सार्वजनिक अभिव्यक्ति’ सुनिँदैन।

यही कारण पनि वामदेवले पार्टी प्रवेश गर्ने निश्चित बनेको हो। नेताहरूका अनुसार वामदेवलाई भित्र्याउन समाजवादी अध्यक्ष नेपाल आफैँ लागेका छन्। उनी नेतृत्वकै वार्ता समितिले वामदेवसँग संवाद गरिरहेका छन्। वार्तामा पनि वामदेवका उल्लेखीय केही कुरा छैनन्। ‘उहाँ(वामदेव) सकारात्मक हुनुहुन्हुन्छ’, वार्तामा सहभागी समाजवादी नेता प्रमेश हमालले भने।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकृत भएपछि बनेको नेकपामा शक्तिशाली मानिन्थे वामदेव। पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल एकातिर र केपी ओली अर्कातिर हुँदा वामदेव निर्णायक मानिन्थे। कतिपय बैठकमा वामदेवकै कारण ओली निर्णय लिन चुक्थे भने कतिपयमा नेपाल-दाहालको वर्चस्व रहन्थ्यो।।

यही खेलका कारण वामदेवले आफू नेकपाको सचिवालय सदस्यदेखि राष्ट्रियसभा सदस्यसम्म बन्न पाए। कतिपय बैठकमा नेपाल-दाहाललाई साथ दिएर प्रधानमन्त्री बन्ने बाटो खोलिदिने दबाबसम्म दिए। वामदेवको त्यो शक्ति टिकेन। जब एमाले र माओवादी ब्युँतिए, तब बिलखबन्दमा परे वामदेव। तापनि उनी नेकपा ब्युँताउने अभियानमा जुटे। वामदेवको त्यो अभियान चल्न सकेन। किनभने वामदेवले नचाहेको अर्को घटना एमाले विभाजित बन्यो। माधव नेपाल र झलनाथ खनालसहितका नेता बाहिरिए।

अनि वामदेवले थाले नेकपा एमाले एकता अभियान। त्यही अभियानसम्म पनि चलाउन वामदेव सक्षम बनेनन्। ‘मसँग पैसा नभएकाले कार्यकर्ताले पत्याएनन्,’ वामदेवले भने। उनी जसरी पनि पुरानो पार्टीमा फर्कन चाहन्थे। कहिले एमाले पुग्थे, कहिले माओवादी।

समाजवादीमा प्रवेश गर्न पनि उनी आफैँले प्रयत्न गरेका हुन्। ‘उहाँ(वामदेव)ले आफैँ निर्माण गरेको पार्टी एमाले भएकाले जोड एमालेमै गर्नुभयो,’ वामदेव निकट एवं हालका समाजवादीका नेता हरि पराजुली भन्छन्, ‘उहिले अत्यन्तै दुःख गरेको पार्टी (एमाले) भएकाले वामदेवजीले बढी जोड एमालेप्रति गर्नुभयो,’ उनी थप्छन्।

एमालेमा प्रवेश गर्न वामदेवले ओलीसँग संवाद गरे। ओलीले नेकपा फुटाउनेदेखि नेपाल-दाहाल बलियो बनाउने काम वामदेवले गरेको आरोप लगाए। वामदेवले पनि गल्ती भएको स्विकारे। तर ओलीले वामदेवलाई रुचाएनन्। ‘उहाँ(ओली)ले विगतका कुरा मात्र गर्नुभयो। एमाले प्रवेशको कुरा गर्नुभएन,’ गौतम भन्छन्। ओलीसँग संवादमा आफू एमाले प्रवेश गर्ने भन्दै वामदेवले वरिष्ठ उपाध्यक्ष मागेका थिए।

वरिष्ठ उपाध्यक्ष नदिने बुझेपछि वामदेवले उपाध्यक्ष मात्रै मागेका थिए। ओलीले चासै नदिएको वामदेवको गुनासो छ। ‘म साधारण सदस्य भएर काम गर्छु भन्दा पनि एमालेले सुनेन’, वामदेवले भने। यसपछि भने वामदेव समाजवादी प्रवेश गर्ने मोडमा पुगेका। समाजवादी नेता पराजुली चाहिँ वामदेव एमालेको ढोका खुलाउन पर्खिरहेको बताउँछन्। ‘एमालेले ढोका नखोलेपछि हामीले पनि सशक्त नेता हो भनेर पार्टीमा फर्काउने निर्णय ग¥यौँ,’ पराजुली भन्छन्।

पछिल्लो समय समाजवादी जान वामदेव आफैँले जोड गरेका थिए। ‘पार्टीविहीन हुनबाट रोक्नकै लागि मात्र समाजवादीमा ल्याउने कुरा भएको हो’, समाजवादीका नेता विरोध खतिवडा भन्छन्।

विगतमा वामदेव समाजवादीमा नआउनुको कारण थियो, मार्ग निर्देशक सिद्धान्त। समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्ग निर्देशक सिद्धान्त नमान्ने निर्णय गरिसकेको छ। वामदेवले जबज नमान्ने भए आफू समाजवादीमा प्रवेश नगर्ने अडान लिएका थिए। एमाले भने जबजकै पक्षपाती थियो। वामदेवले आफू सैद्धान्तिक रूपमा एमालेसँग नजिक रहेको बताउने गरेका छन्।

एमालेसँग वामदेव सैद्धान्तिक रूपमा नजिक भए पनि भौतिक रूपमा नजिकिन सकेनन्। एमालेभित्रका जबजका पक्षपाती नेताले नरुचाएको वामदेव बताउँछन्। ‘मलाई एमालेमा प्रवेश नगराउन महासचिव (शंकर पोखरेल)ले भूमिका खेल्नुभयो,’ वामदेवले भने।

अहिले समाजवादी वामदेवले सोचेभन्दा भिन्न छ। मार्ग निर्देशक सिद्धान्त जबज हटाएर ‘नेपाली विशेषताको समाजवाद’ राखिएको छ। जुन सिद्धान्त वामदेवसँग मिल्दैन। यही कारण उनलाई आफ्नो सिद्धान्त र कुरा राख्न दिनेगरी समाजवादी ल्याउन खोजिएको समाजवादीका नेताहरू बताउँछन्। ‘सिद्धान्तमा फरक परे उहाँ (वामदेव)का कुरा राख्न सक्नुहुन्छ। यही सहमति छ,’ पराजुली भन्छन्। समाजवादीमा अहिले ‘नेपाली विशेषताको समाजवाद’ पार्टीको राष्ट्रिय सम्मेलनबाटै पारित भएको हो। १० औँ महाधिवेशनले पनि सोही सिद्धान्त ग्रहण गरेको छ।

हुन त समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेता पनि जबजकै पक्षपाती हुन्। पार्टीमा अर्का नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल एकातिर हुँदा नेपाल मौन रहे। अब वामदेव जबजका पक्षमा कुरा राख्न पाउने गरी समाजवादी भित्रन लागेका हुन्।

वामदेवले समाजवादी प्रवेश गर्ने तयारी गर्दै गर्दा एमाले नेताहरू पनि रोक्न लागिरहेका छन्। उनीहरू वामदेव समाजवादी प्रवेश गर्न नहुने बताइरहेका छन्। वामदेव वाम आन्दोलनको अग्रणी नेता भएकाले समाजवादी प्रवेश गर्दा गलत हुने उनीहरूको भनाइ छ।

‘वामदेव गणेशमानजस्तै नेता हुन्। गणेशमानले कांग्रेस छाडेर पनि कतै लागेनन्,’ एमाले सांसद दयालबहादुर शाही भन्छन्, ‘उनी आफू नेता बन्न पनि समाजवादीमा जान हुन्न।’ समाजवादी जाने वामदेवको निर्णय ‘महाभूल’ भएको शाहीको बुझाइ छ। शाही मात्र नभई अन्य एमाले नेताहरू पनि वामदेव रोक्न लागेको आरोप लाग्दै आएको छ। त्यसो त समाजवादी नेताहरू समेत वामदेवको निर्णयप्रति सन्तुष्ट देखिँदैनन्। उनीहरू वामदेव प्रवेशले फेरि समाजवादी दुर्घटना पर्ने बताइरहेका छन्। ‘हाम्रो पार्टीमा अहिले गुटउपगुट छ। भोलिका दिनमा वामदेव आउँदा कस्तो होला,’ समाजवादीका एक नेता भन्छन्, ‘सोचेर मात्र निर्णय गर्दा उचित हुन्छ।’
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्