उज्यालो नहुँदै बालुवाटार पुगेर उपेन्द्रले आफूलाई बर्खास्त गर्न गरे माग

मंगलबार, वैशाख २५, २०८१

आज बिहान अध्याँरैमा अमेरिकाबाट उपेन्द्र यादव नेपाल ओर्लिए। उनी स्वदेश त आए तर चैन भने थिएन। छँदाखाँदाको पार्टी फुटेको छ। जब उज्यालो भयो अनि उनी बालुवाटार हान्निए। प्रधानमन्त्री प्रचण्डलाई धेरै कुरा भनेर भारी बिसाए। यति गर्दा उनलाई तैबिसेक चाहिँ भयो।

बालुवाटारमा भएको भेटवार्तामा यादवले आफ्नो पार्टी विभाजनको लागि प्रधानमन्त्री दाहालको भूमिका रहेको भन्दै असन्तुष्टि पोखेको बुझिएको छ ।

उनले आजै पार्टीको संसदीय दलको बैठक राखेर सरकारबाट बाहिरिने निर्णय लिनेपनि प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् । यादव विदेशमा रहेको बेला अशोक राईको नेतृत्वमा ७ जना सांसदले विद्रोह गरेका छन् ।

उनीहरुले राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । आयोगले फास्ट ट्रयाकमा दल दर्ताको मान्यता दिएको र संघीय संसद् सचिवालयले पनि हिजै आयोगको पत्रानुसार सचिवालयमा सो दल दर्ता भएको जानकारी गराएको छ ।

यादवले आफ्नो पार्टी विभाजन गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीको ठूलो हात रहेको र त्यसमा दाहालले पनि सघाएको निश्कर्ष निकालेका छन् ।  

प्रधानमन्त्रीलाई उपेन्द्रले आफूलाई बर्खास्त गर्न भनेको श्रोतको भनाइ छ। हुन पनि उपेन्द्रलाई बर्खास्त गर्न ओलीको प्रचण्डमाथी चर्को दबाब छ। तर उपेन्द्र आफैले सरकार छोड्ने संकेत गरेका छन् । प्रचण्ड भने उपेन्द्रलाई बर्खास्त गरेर थप नचिढ्याउने मुडमा पुगेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्