सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आफू नेतृत्वको सरकारले गरेका सबै राम्रा कामविरुद्ध केन्द्रित भएको आरोप लगाएका छन्।
योग्यलाई जिम्मेवारी दिने गरी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको विषय, लोडसेडिङ अन्त्यका लागि भूमिका खेल्ने अधिकारी लगायतविरुद्ध सरकारले काम गरिरहेको आरोप लगाए।
प्रचण्डले आफूले भ्रष्टाचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हट्नुपरेको पनि दोहोर्याए। बिहीवार कीर्तिपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले पार्टीका तर्फबाट मेयरको उम्मेदवार बनेका शिवशरण महर्जनलाई सबैको साझा उम्मेदवार भएको भन्दै विजयी गराउन पनि अपिल गरे।
प्रचण्डले महर्जन इमान्दार व्यक्ति भएकाले उनले कीर्तिपुरवासी जनताको सेवामा समर्पित भएर काम गर्ने आश्वासन समेत दिए।
प्रचण्डले भने, ‘मैले भागबण्डाको राजनीतिभन्दा बाहिर गएर योग्यलाई नै टियुको भिसी बनाउने, पदाधिकारी बनाउने अभियानको शुरुवात गरेको थिएँ। अहिलेको सरकारले त्यसलाई भत्काउँदै छ। हामीले जे जे राम्रो काम गर्यौ, जो जो राम्रो काम गरेँ‚ तिनका विरुद्ध तीर सोझ्याउँदै छ यो सरकार।’
अध्यक्ष दाहालले आफ्नो पार्टीका उम्मेदवार महर्जनले जिते कीर्तिपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्ने आश्वासन दिए।