सोसल मिडिया
सम्पर्क
युनिकोड
मलेसिया जाने श्रमिकलाई मेडिकल व्यवसायीसँग मिलेर सचिवको हैसियतमा ठगी गरेको आरोपमा प्रहरी समात्ने सूचना पाए लगत्तै पूर्व मुख्यसचिव एकनारायण अर्याल बुधबार बिहानै दिल्ली उडेको तथ्य फेला परेको छ।
पूर्व मन्त्री सहित आफूलाई पनि पक्राउ गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तयारी गरेको थाहा पाएपछि अर्याल हतारहतार कुम्लो बोकेर भारत हान्निएका हुन् ।
पक्राउ पूर्जीका लागि बुधबार दिउँसो सीआईबीले अदालतबाट अनुमति लिँदै थियो। तर सीआईबीले पक्राउ गर्न लागेको सूचना उनलाई पुगेको र त्यसलगत्तै दिल्ली उडेको खुलेको छ। मन्त्रालयबाट सूचना चुहिँदा उनी भागेको प्रहरीको दाबी छ। प्रहरीले यससँग सम्बन्धित कागजात माग गर्दै श्रम मन्त्रालयमा पत्राचार गरेको थियो। सीआईबीले माग गरेको विवरणमा अर्याल श्रम मन्त्रालयको सचिव हुँदाका विषय पनि थिए।
त्यही क्रममा मन्त्रालयबाट सूचना पाएको र उनी भागेको बुझाइ प्रहरीको छ। बुधबार दिउँसो अदालतले उनलाई पनि पक्राउ गर्न अनुमति दिइसकेको छ। दुई पूर्वश्रममन्त्री, एक सचिव, दुई सहसचिव र एक उपसचिव भने पक्राउ परिसकेका छन्। पूर्वमन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवर हिरासतमा छन्। मन्त्रालयको सचिव हुँदा गरेको कसुरका आधारमा अर्याललाई पनि पक्राउ गर्न लागिएको हो।
मलेसिया जाने श्रमिकलाई ठगी गर्न मन्त्रालयमा रहँदा मिलेमतो गरेको सीआईबीको आरोप छ। सोही आरोपमा अर्का पूर्वश्रमसचिव विनोद केसी पनि पक्राउ परिसकेका छन्। मन्त्रालयका तत्कालीन सहसचिवद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा उपसचिव निर्मला गुरुङलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ।
बिहीबार जिल्ला अदालत, काठमाडौँले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक चार दिनको म्याद दिएको छ। यो म्याद शनिबार सकिनेछ। त्यसपछि थप समय हिरासतमा राख्न परे सीआईबीले सोमबार पुनः म्याद थप माग गर्नेछ।
मेडिकल व्यवसायीले मलेसिया जाने करिब सात लाख श्रमिकबाट अतिरिक्त शुल्क लिएर ठगी गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो।
सोही पत्रका आधारमा सीआईबीले यसअघि नै स्वास्थ्य व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको थियो। गत असोज २९ गते खड्कासँगै मेडिकल व्यवसायीहरू भक्तपुरको चाँगुनारायणका रवीन्द्र केसी, गोरखाका प्रविण तिवारी र सर्लाहीका रामपुकार तिवारी पक्राउ परेका थिए।
तत्कालीन श्रमसचिव अर्याल २०८१ भदौमा मुख्यसचिव नियुक्त भएका थिए। त्यसअघि उनी गृहसचिवका रुपमा कार्यरत थिए। गृहसचिव हुँदै मुख्यसचिव बनेका अर्याल १५ महिनापछि २०८२ मंसिरमा उमेरहदका कारण अनिवार्य अवकास भएका थिए। निजामती विधेयकमा चलखेल गरेर कुलिंग पिरियड हटाउन सुँड पसारेर गिजोल्ने काम उनै अर्यालको कप्तानीमा भएको थियो ।