Tihar Banner
Tihar Banner

पार्टीको आधिकारिकताका निम्ति कानोकौडी लगानी नगरेको भन्दै गगनले दिए साविती बयान

शुक्रबार, कात्तिक २०, २०८३

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकताका निम्ति भएको राजनीतिक तथा कानुनी लडाइँमा गलत तरिकाले कुनै रकम खर्च नगरिएको जिकिर गरेका छन् । बिहीबार (कात्तिक १९) भिडियो सन्देशमार्फत उनले आधिकारिकताको लडाइँमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको बताएका हुन् ।

उनले कांग्रेसको विशेष महाधिवेशनलाई विद्रोहको संज्ञा दिएका छन् । ०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको सम्मान गर्दै पार्टीभित्र पनि परिवर्तनको प्रयास गरिएको उनको भनाइ छ ।

कांग्रेसका तल्लो तहका कार्यकर्ताको ‘विद्रोह’मा आफूहरू सहभागी भएको उनले बताए । “विशेष महाधिवेशन भनेको विद्रोह हो । भदौ २३ र २४ गतेको जेनजीले विद्रोह गरे । त्यही विद्रोहको सम्मान गर्दै पार्टीभित्र चेन्ज चाहिन्छ भनेर हामीले कोसिस गर्‍यौँ, स्थापित भयो,” उनले भने, “कांग्रेसका भुइँ तहका कार्यकर्ताको विद्रोह हो । त्यो विद्रोहमा हामी मिसिएको हो ।” 

विद्रोह गर्नेहरूले परिणामको चिन्ता नगर्ने पनि उनले बताए । “विद्रोह गर्नेले परिणामको चिन्ता गर्छ ? के होला भनेर सोच्छ ? सोच्दैन नि,” उनले भने ।

निर्वाचन आयोग र अदालतबाट पार्टीको आधिकारिकता पाउने प्रक्रियामा करोडौँ रुपैयाँ खर्च गरिएको भन्ने चर्चाको उनले खण्डन गरे । “करोडको कुरा गर्छन् । नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा, राजनीतिक र कानुनी लडाइँमा रुपैयाँ होइन, एक सुकोको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन, भएको छैन,” उनले भने ।

बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएको अडियो प्रकरणबारे पनि कांग्रेसले सार्वजनिक रूपमा जवाफ दिँदै हिँड्न आवश्यक नरहेको थापाको तर्क छ ।

उनले भने, “बिचौलिया इनम सापकोटाको अडियो भनेर बजारमा आएको कुरामा, हाम्रो बारेमा यस्तो सुनियो भनेको बारेमा हामीले सार्वजनिक रूपमा उत्तर दिएर हिँड्नुपर्ने ?

कांग्रेसको आधिकारिकता थापा समूहले १८ करोड खर्चेर पाएको सापकोटाले आरोप लगाएको भनिएको अडियो यसअघि सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ११:१२
प्रतिक्रिया दिनुहोस्