सोसल मिडिया
सम्पर्क
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कर्मचारीको साथबिना आफूहरूले गरेको बाचा पूरा गर्न नसकिने बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई थर्काएर, तर्साएर अघि बढ्न नहुने धारणा राखे ।
सरकारले ठूला–ठूला फ्याक्ट्री खोल्ने लगायतका काम गर्न नसके पनि आशा भने जगाउन सक्ने धारणा राखे । “सरकारले आशा जगाउन सक्छ, अभिभावकत्व देखाउन सक्छ । हामी छौँ चिन्ता नगर्नुस् भन्न सक्छ । हामीले कर्मचारीलाई तर्साएर, थर्काएर होइन । हो, हाम्रो ब्युरोक्रेसीमा समस्या छ,” उनले भने, “त्यसलाई समाधान गर्नको निमित्त उहाँहरूलाई मोटिभेट गरेर, सँगै बोकेर अघि बढ्न सक्यौँ भने हामीले भनेको उपलब्धि हासिल गर्छौं । कर्मचारीतन्त्रको साथबिना हामीले जनतालाई दिएको बाचा पूरा गर्न सक्दैनौँ ।”
उनले सुनेका भरमा बोल्ने कुराले अदालत कमजोर हुने धारणा राखे । “अदालतका विषयलाई हल्का रूपमा सुनेका भरमा, देखेका भरमा प्याटपुट्ट बोल्ने कुराले यो देशको संस्था कमजोर हुन्छ । यो देशमा अदालत पनि कमजोर हुने, प्रहरी पनि कमजोर हुने, सुुरक्षा निकाय पनि कमजोर हुने, निजी क्षेत्र, वैदेशिक सम्बन्ध पनि कमजोर हुने,” उनले भने, “पेसागत संगठन, प्रेस कमजोर हुने । भए भरका संस्था कमजोर हुने हो भने देश कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुन्छ ।”
उनले लोकतन्त्र कमजोर हुँदा कुरा मात्रै ठूला गर्न सकिने बताए । लामिछानेले निर्णय गर्दा लोकतन्त्रको पिल्लर हल्लिने काम गर्न नहुने पनि बताए । “हाम्रा अभिव्यक्ति, हाम्रा क्रियाकलाप, निर्णयले लोकतन्त्रको पिल्लर हल्लाउने काम धेरै गर्नु हुँदैन भन्ने कुरा हामीले महसुस गर्नुपर्छ,” उनले भने ।
उनले रास्वपाले कुनै दल र नेतामाथि प्रतिशोध नसाँध्ने दाबी गरे । राज्यका संरचनालाई बलियो बनाएर लैजाने बताए । उनले जसलाई भेट्यो उसलाई जेल हाल्ने नभनिएको बताए ।