Tihar Banner
Tihar Banner

नेकपाले मधेश प्रदेश सरकार छोड्यो,कांग्रेसको सरकार कसले गर्दैछ विस्थापित ?

शुक्रबार, कात्तिक २०, २०८३

मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्रीले शुक्रबार राजीनामा बुझाएका छन्।

राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा र गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो छन्।

अर्थमन्त्री भट्टराईले आफूहरूले केन्द्रको निर्देशनअनुसार राजीनामा बुझाएको जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ। केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै मधेसमा पनि सत्ता गठबन्धन फेरिने चर्चा चलिरहेको छ।

जसपाको सहयोगमा कम्युनिस्ट दलहरूको सरकार बन्ने चर्चा भए पनि यसबारे औपचारिक निर्णय सार्वजनिक भएको छैन। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कम्युनिस्ट नेतृत्वको सरकारमा सहभागी हुने विषयमा असहमति जनाउँदै आएका छन्। यसबारे प्रतिक्रिया लिन खोज्दा उनी विदेशमा रहेकाले थप कुरा गर्न चाहेनन्।

केही दिनअघि कांग्रेस सभापति गगनकुमार थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि मधेस प्रदेश सरकारको विषयमा छलफल भएको थियो। तर, थापाले एमालेसहित अन्य दलसँग सहकार्य गरेर तत्काल प्रदेश सरकारमा सहभागी हुने निर्णय नभएको जानकारी गराएको बताइन्छ।

ओलीसँग भेटवार्ता गर्न थापा स्वयम् गुण्डु पुगेपछि मधेसको राजनीतिक समीकरणबारे विभिन्न अड्कलबाजी भएका थिए। यद्यपि, कांग्रेसले यस विषयमा औपचारिक निर्णय सार्वजनिक गरेको छैन। चार मन्त्रीको राजीनामासँगै मधेस प्रदेश सरकारको आगामी राजनीतिक समीकरणबारे थप अन्योल देखिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १९:१८
प्रतिक्रिया दिनुहोस्