सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहीबार राति १० बज्नै लाग्दा सामाजिक सञ्जालमा लेखे, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन् । हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् । फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’
प्रधानमन्त्री बालेनले एउटा स्टाटसमार्फत दुई नेतालाई तीर प्रहार गरेको अर्थमा विश्लेषण भइरहेको छ । बालेनको तीर गगन थापा र रवि लामिछानेलक्षित रहेको अर्थ लगाइएको छ ।
एक सातायता कांग्रेस सभापति गगन थापासँग सरकारको रणनीतिक चालबाजी देखिन्छ । इनम सापकोटाको अपुष्ट अडियोमार्फत कांग्रेसको आधिकारिकतासँग जोडेर थापालाई विवादमा तान्ने प्रयास भएको छ, जसमा प्रधानमन्त्री बालेननिकटहरू नै सक्रिय रहेको थापापक्षको बुझाइ छ । उनीहरूले सार्वजनिक रूपमै टिप्पणी पनि गरेका छन् ।
अनि, बालेन आबद्ध पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनीनिकट नेताहरू सरकारप्रति असन्तुष्ट देखिएका छन् । खासगरी, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने सन्दर्भमा बालेन र रविबीच दूरी रहेको संकेत देखिएको छ । लामिछाने स्वयम्का अभिव्यक्ति र पार्टी प्रवक्ता जगदीश खरेलका प्रतिक्रियाले त्यही पुष्टि गरेका छन् ।
त्यसैले बालेनले गगनलाई लक्षित गरेर ‘तपाईंहरूका कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्’ भन्न खोजेको अर्थमा हेरिएको छ । अनि, साथमा ‘हाम्रा नेता लड्छन्, मानवताले आश गर्छन्’ भनेर लामिछानेलाई संकेत गरेको अर्थमा व्याख्या भइरहेको छ ।
तर, रोचकचाहिँ, विगतमा बालेनले देश बनाउने र नबनाउने पक्ष भनेर व्याख्या गर्ने गरेका थिए । यसपटक उनले देश जोगाउने भनेर व्याख्या गरेका छन् । सामाजिक सञ्जालमा त्यसलाई देश बनाउनेबाट देश जोगाउनेमा ओर्लिएको भन्दै टिप्पणी पनि गरेका छन् । त्यसो त, बालेनले स्टाटस लेख्नुभन्दा केही घण्टाअघि भारतीय विदेशसचिव विक्रम मिस्रीसँग संवाद गरेका थिए । केहीले सामाजिक सञ्जालमा देश जोगाउने कुरालाई त्यसतर्फ पनि संकेत गरेको भनेका छन् ।
त्यसबाहेक बालेनले पार्टी जोगाउने भनेर थापालाई लक्षित गरेका हुन् वा लामिछानेलाई भन्ने स्पष्ट छैन । तर, हिजो दिनभर कांग्रेसका नेता तथा कार्यकर्ताहरू आक्रामक रूपमा सरकारविरुद्ध खनिएका कारण पार्टी जोगाउने शब्दचाहिँ थापालक्षित रहेको विश्लेषण भइरहेको छ ।
बिर्सन नहुनेचाहिँ, बालेनले स्टाटस लेख्नुभन्दा केही घण्टाअघि दिउँसो प्रधानमन्त्री बालेन आबद्ध पार्टी रास्वपाका सभापति लामिछानेले चितवन पुगेर सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाउने निर्णयको सन्दर्भमा असन्तुष्टि जनाएका थिए । सभापति लामिछानेले सरकारले हटाउनुको पुष्टि गर्ला भनेर सांकेतिक असन्तुष्टि जनाएका थिए ।
सञ्चारकर्मीमाझ लामिछानेले सरकारलाई पूर्ण रूपमा काम गर्न दिने र पार्टीले आफ्नो काम गर्ने विषयमा लामो व्याख्या पनि गरेका थिए । तर, व्याख्यामा लामिछानेले आईजीपी कार्कीलाई हटाउने सरकारको निर्णय सही थियो भनेनन्, बरु सरकारको काम भनेर पन्छिए मात्रै । यद्यपि, असन्तुष्टि झल्कनेगरी सरकारले हटाउनुको कारण पुष्टि गर्ला भनेर जवाफ फर्काएका थिए ।
लामिछानेले त्यसो भनेको अघिल्लो दिन अर्थात् आईजीपी कार्कीलाई हटाएको दिन पार्टी प्रवक्ता जगदीश खरेलले पनि आईजीपी हटाउने कुरा पार्टीलाई जानकारी नभएको मात्रै उल्लेख गरेनन्, हटाउनुको पुष्टि सरकारले गर्नुपर्ने टिप्पणी गरेका थिए । खरेलले त्यसो भन्नुको खास कारणचाहिँ सरकारका प्रवक्ता सस्मित पोखरेलले आईजीपी हटाउन सरकारलाई पार्टीको सुझाव थियो भन्नुसँग जोडिन्छ ।
आईजीपी हटाउने निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता पोखरेलले पार्टीको सुझावकै आधारमा हटाएको उल्लेख गरेका थिए ।
कार्कीलाई हटाउने विषय केही दिनदेखि नै चर्चाको विषय बनेको थियो । जसले पार्टी सभापति लामिछाने र प्रधानमन्त्री बालेनबीच फरक मत रहेको कुरा पनि सार्वजनिक भइरहेको थियो । त्यो फरक मतको कारण १७ दिनसम्म मन्त्रिपरिषद् बैठक नबसेको मात्रै होइन, प्रधानमन्त्री बालेन सभापति लामिछानेको निवास पुगेर चार घण्टाभन्दा बढी छलफल गरेका थिए ।
उक्त छलफलपछि नै सरकार र रास्वपाबीच दुई धार रहेको संकेतहरू बाहिरिएका हुन् । गत शुक्रबार पत्रकार धरपकड गर्ने घटनाले ती संकेतहरूलाई पुष्टि गरेको थियो ।
गत शनिबार रास्वपाको सचिवालय बैठक बसेको थियो । उक्त बैठकपछि पार्टीले सरकारलाई सञ्चारगृहमा प्रहरी जानुको कारणबारे अध्ययन गर्न निर्देशन दिएको थियो । अघिल्लो दिन शुक्रबार सञ्चारगृहमा प्रहरी पुगेर पत्रकारलाई धरपकड मात्रै गरेको थिएन, समग्र सञ्चार क्षेत्रलाई नै आतंकित र भयभीत बनाएको थियो । शुक्रबार दिउँसोको उक्त घटनामा पनि रास्वपाले सरकारी कदमको चर्को आलोचना गरेको थियो । विज्ञप्तिमार्फत छानबिनका लागि सरकारसँग माग गरेको थियो । त्यसमा सरकारी मौनता भने आश्चर्यजनक थियो ।
शुक्रबारकै घटनामा पनि प्रधानमन्त्री बालेनको सचिवालय र नेपाल प्रहरीको भनाइ बाझिने खालको थियो । प्रधानमन्त्रीको सचिवालयले पत्रकारलाई धरपकडबारे सरकारलाई थाहा नभएको दाबी गरेको थियो भने जवाफमा प्रहरीले प्रधानमन्त्रीको सचिवालयकै चासोमा नियन्त्रणमा लिएको दाबी गरेको थियो । शुक्रबारको उक्त घटनाले नै सरकार र सरकारी सुरक्षा संयन्त्रबीच अविश्वास रहेको संकेत गरिरहेको थियो ।
त्यसमा रास्वपाले सरकारी कदमको विरोध गरेको थियो । सरकार सञ्चालनमा रास्वपाको अप्रत्यक्ष असन्तुष्टि पनि पोखिएको थियो । घटनाको छानबिन गर्न निर्देशन दिएको थियो । सरकारका प्रवक्ताले त्यही निर्देशनलाई आईजीपी हटाउने निर्देशन वा सुझावको रूपमा लिएको देखिन्छ ।
अर्थात्, विगत एक साताका क्रिया–प्रतिक्रियाले मात्रै प्रधानमन्त्री बालेन र सभापति रवि लामिछानेबीच असन्तुष्टि र दूरी बढेको संकेत गरिरहेका छन् । त्यसरी असन्तुष्टिका संकेत देखिएकै बेला कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने चर्चा पनि गरियो । थापा प्रकरणलाई पनि बालेन सरकारको रणनीतिक चालबाजीको अर्थमा हेरिएको छ ।