सोसल मिडिया
युनिकोड
विभिन्न बहानामा युवतीहरूलाई ठगी गरेको अभियोगमा कलाकार सञ्जय भन्ने डम्बर खतिवडालाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले समेत सदर गरेको छ।
खतिवडालाई बेलायत बस्ने नेपाली मूलकी एक युवतीको जाहेरीको आधारमा भदौ ८ गते अनुसन्धानका लागि पक्राउ गरिएको थियो।नेपालमै अटोमोबाइल्स व्यवसाय सञ्चालन गर्ने अर्की युवतीले पनि उनीविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्।
जिल्ला अदालतले असोज ६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो।आदेश बदरको माग गर्दै खतिवडाले उच्च अदालत पाटनमा निवेदन दायर गरेका थिए।उक्त मुद्दामा पीडित महिलाहरूको पक्षमा अधिवक्ता मन्दिरा अधिकारीले बहस गरेकी थिइन् भने प्रतिवादी डम्बर खतिवडाको पक्षमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ता चिरञ्जीवी खतिवडा, राधिका खतिवडालगायतका बहस गरेका थिए ।
बिहीबार उच्च अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटा र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई सदर गरेको हो। आफू अविवाहित भएको भन्दै खतिवडाले विवाह गर्ने बहानामा युवतीहरूलाई फसाउँदै रकमहरू ठगी गर्दै आएका थिए।
देशको ठूलाठूला नेता र मन्त्रीहरूसँग उठबस रहेको भनी फोटोहरू देखाउँदै आफू बालुवाटारसँग नजिक रहेको र छिट्टै राजदूत बन्ने बताउने गरेका थिए ।